राष्ट्रियता र गणतन्त्रमा आँच आउने कुरा स्विकार्य छैन : राजमो सांसद पौडेल

काठमाडौं, फागुन २७ । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले राष्ट्रियतामाथि आँच आउने गरी संविधान संशोधन गर्ने कुरा स्विकार्य नहुने बताएकी छन् ।

संसदमा आइतबार प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिंदै सांसद पौडेलले संविधान गतिशिल दस्तावेज भएको उल्लेख गर्दै कार्यान्वयनको दौरानमा फेरबदल स्वभाविक भएपनि राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षता जस्ता विषयलाई कमजोर पार्ने कुरा आफ्नो पार्टीलाई स्विकार्य नहुने दोहोर्याएकी हुन् ।

प्रधानमन्त्री ओलीलाई मधेशवादी दलहरुले समेत विश्वासको मत दिएको र त्यसवापत ओलीले संविधान संशोधन गर्ने प्रतिवद्धता जाहेर गरेको प्रशंगमा राजमो सांसद पौडेलले संसदको रोष्ट्रमबाटै खरवरदारी गरिन् ।

पौडेलले प्रधानमन्त्रीलाई बिगतको अडान र भूमिका कायम राख्न आग्रह गरेकी छन् । उनले बिगतमा गरेका प्रतिवद्धतालाई दह्रोसँग कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई सुझाव पनि दिईन् । उनले भनिन्, ‘प्रधानमन्त्री ओलीले बिगतमा जुन भूमिका र अडान राख्नुभयो, जसलाई जनताले पनि ठुलो समर्थन गरेका छन्, राष्ट्रिय जनमोर्चाले वहाँको त्यही अडान र भूमिका कायम रहनेछ भन्ने विश्वास गरेको छ ।’

यस्तै, पौडेलले प्रधानमन्त्रीले संसदमा उभिएर भ्रष्टाचार न गर्छु, न गर्न दिन्छु भनेर प्रतिवद्धता जाहेर गरेको कुरालाई पनि व्यवहारमा उतार्न आग्रह गरिन् ।

सांसद पौडेलले कैलालीमा बोक्सी आरोपमा कुटपिट गरिएकी राधा चौधरीको प्रशंग उल्लेख गर्दै उनले अपराधीलाई कडा कारवाही गर्न माग गरिन् । पौडेलले भनिन् ‘महिलामाथि गरिने जघन्य अपराधलाई त्यहि प्रकारको कारवाही गर्ने हो भने अर्कोचोटी अपराध गर्न थरर्र काँप्नेछ ।’

आइतबार २०८ मतसहित संसदबाट दुईतिहाईको समर्थन पाएका प्रधानमन्त्री ओलीको पक्षमा वाम गठबन्धनका एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम, राप्रपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद छक्कबहादुर लामाले मत दिएका थिए भने कांग्रेसले मात्र ओलीलाई मत दिएन । नयाँ शक्ति पार्टीका मात्र सांसद डा. बाबुराम भट्टराई आइतबारको संसद बैठकमा उपस्थित थिएनन् । नेमकिपाले पनि ओलीलाई मत दिएन। ओलीको विपक्षमा ६० मत परेको थियो ।

यस्तै, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवं प्रवक्तासमेत रहेकी सांसद पौडेलले आइतबार नै एक विज्ञप्ति प्रकाशित गरी कैलाली घटनाको कडा विरोध गरेकी छन् ।

विज्ञप्तिमा भनिएको छ :

कैलालीको घोडाघोडी नगरपालिकामा राधा चौधरीमाथि बोक्सीको आरोपमा निर्मम र अमानवीय कुटपिटको घटनाबाट राष्ट्रिय जनमोर्चा स्तब्ध भएको छ । त्यसले हाम्रो देशमा महिलामाथि हुने गरेको पारिवारिक हिंसाको अत्यन्त निच प्रकारको घटनालाई त बताउँछ नै । तर त्यो घटनालाई हामीले खाली व्यक्तिगत र स्थानीय घटनाको रूपमा मात्र लिनु सही हुने छैन । त्यो एउटा गम्भीर प्रकारको सामाजिक र राष्ट्रिय समस्या पनि हो । त्यसकारण त्यस प्रकारका घटनाहरूप्रति देशका सबै राजनीतिक पार्टी, सामाजिक सङ्घसंस्था, मानवअधिकारवादी र सरकार समेतको गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ ।
यहाँ यो उल्लेखनीय छ कि कैलालीको घोडाघोरीको त्यो घटना हुने बेलामा जनताको ठूलो समूह त्यहाँ उपस्थित थियो र ६ घण्टासम्म त्यसरी कुटपिट गर्ने काम गरिएको थियो । तर उनीहरूले त्यस प्रकारको कुटपिटलाई रोक्ने प्रयत्न गरेनन् ।पछि त्यसबारे पुलिसलाई रिपोर्ट गर्दा पनि कुनै कारवाही गरेन र दोषिलाई बिना कारवाही रिहा गरियो ।पछि नगरपालिकाका मेयरद्वारा त्यति गम्भीर प्रकारको घटनालाई मेलमिलाप गराई टुङ्गाउने प्रयत्न गरियो । उक्त विषयमा राष्ट्रिय स्तरमा आवाज उठेपछि नै दोषिलाई पक्रेर अनुसन्धान सुरु गरिएको छ । त्यस प्रकारको कुटपिट हुँदा उपस्थित जनसमुहले रोक्ने प्रयत्न नगर्नु, प्रहरीले कुनै कारवाही नगर्नु र नगरपालिकाका प्रमुखले समेत त्यो मुद्दालाई मेलमिलाप गराएर टुङ्गाउने प्रयत्न गर्नु, सामान्य कुरा होइनन् । यी कुराहरूप्रति हाम्रो गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ ।
कैलालीको त्यो घटनाको दोषिलाई कडा सजाय दिन, कुटिएकी युवतीको उपचारको आवश्यक ध्यान दिन र उनलाई क्षतिपूर्ति दिन प्रभावशाली कदम उठाउन हामीले सरकारसित अनुरोध गर्दछौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *