तामझामका साथ भरतपुर ११ वातावरणमैत्री वडा घोषणा, कार्यान्वयन हाेला त !

फागुन २६, भरतपुर । २८ वटा सूचक पार गरेपछि ठूलो तामझामले भरतपुर ११ लाई वातावरणमैत्री तथा पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गरिएको छ । शनिबार विभिन्न झाँकी, ¥याली र विशेष उत्सव नै गरेर वडालाई वातावरणमैत्री तथा पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गरिएको हो ।

प्रदेश नम्बर ३ का संघीय मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले भरतपुर ११ वातावरणमैत्री र पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गरेका थिए । मन्त्री जमरकट्टेलले वडा नम्बर ११ का वडाध्यक्ष बाबुराम अधिकारीलाई वातावरणमैत्री र पूर्ण सरसफाई उन्मुख वडा लेखिएको प्रमाणपत्र प्रदान गरेका थिए ।

भरतपुर ११ मा रहेको छेच्यु थर्पलिङ गुम्बामा आयोजित घोषणा सभामा प्रमुख अतिथि रहेका संघीय मामिला तथा कानुनमन्त्री जमरकट्टेलले भरतपुर ११ वातावरणमैत्री तथा पूर्ण सरसफाइ उन्मुख घोषणा हुन सफल भएकोमा सबैलाई धन्यवाद दिँदै सरसफाइलाई निरन्तरता दिन सुझाव दिएका थिए । उनले यसको कार्यान्वयन र निरन्तरतामा चुनौती रहेको बताए ।

सभा हुनुअघि वडावासीले बाजागाजासहितको ¥याली निकालेका थिए । वडामा रहेका ५१ वटा टोल विकास संस्थाद्वारा निकालिएको नाचगान झाँकीसहितका र्याली ११ नम्बर वडाको परिक्रमा गरेको थियो । ¥यालीमा बाजागाजा लिएर वडाका आमा समूहहरु, बाल क्लबहरु, स्कुलका विद्यार्थीहरु, कर्मचारी तथा ज्येष्ठ नागरिकहरु, सुरक्षाकर्मीलगायतले सहभागिता जनाएका थिए ।

‘भरतपुर ११ को शान, सफा सुन्दर र समृद्धि हाम्रो पहिचान’ भन्ने नारा लिइएको थियो । वडा नम्बर ११ भरतपुर महानगरपालिकाको सबैभन्दा ठूलो र धेरै जनसंख्या भएको वडा हो । यो वडा धार्मिक पर्यटकीय हिसावले महत्वपूर्ण गन्तव्य पनि हो । यो वडा ६९१ हेक्टरमा फैलिएको छ ।

घोषणा सभामा वक्ताहरुले कार्यान्वयन र निरन्तरतामा चुनौती रहेको बताए । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले घोषणा हुनुमात्र ठूलो होइन, यसलाई निरन्तरता दिने कुरा ठूलो भएको बताइन् । उनले भनिन्, ‘११ वडालाई मात्र होइन, महानगरलाई नै वातावरणमैत्री र पूर्ण सरसफाइ वडा घोषणा गर्नुपर्छ । यसको लागि सबैको साथ र सहयोग हुनुपर्छ ।’ उनले वडा नम्बर ११ ले सम्पूर्ण मापदण्ड पूरा गरेपछि बल्ल वातावरणमैत्री र पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गरिएको बताइन् ।

प्रदेश ३ का सांसद विजय सुवेदीले वर्खाको समयमा ११ र १२ नम्बर डुबानमा पर्ने समस्या रहेको हुनाले डे«नबाट पानीको निकास गर्नुपर्ने सुझाव दिएका थिए । अर्का प्रदेश सांसद मिलनबाबु श्रेष्ठले घोषणा गर्ने तर कार्यान्वयन गर्न नसक्ने अवस्था आउन नहुने बताए ।

वडा नम्बर ८ का वडाध्यक्ष दामोदर न्यौपाने र १० का अरुणपीडित भण्डारीले वातावरणमैत्री र पूर्ण सरसफाइ उन्मुख वडालाई सधैँभरि कायम राख्न सुझाव दिएका थिए । त्यस्तै, खानेपानी सरसफाइ डिभिजनका प्रमुख शालिकराम पौडेलले वडावासीको आनीबानीमा सुधार नआए घोषणा कायम राख्न गाह्रो हुने बताए । घोषणा सभामा वडाका ५ वटा नमुना घरलाई, ५ जना सरसफाइ अभियान्तालाई, ५ वटा टोल विकास संस्था र विभिन्न सामाजिक संघसंस्था तथा सहयोगी व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

भरतपुर ११ का वडाध्यक्ष बाबुराम अधिकारीले निर्वाचित भएर आउनेबित्तिक्कै पहिलो बैठकले गरेको निर्णय फागुन २६ गतेबाट साकार भएको बताए । उनले भने, ‘यो घोषणा कार्यान्वयन हुन्छ, निरन्तरता पाउँछ ।’ वडाका अनुगमन समितिका नारायणप्रसाद दवाडीले कसरी वातावरणमैत्री र पूर्णसरसफाइ उन्मुख वडा भयो भनेर प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले वडाले फोहोरसँग मोहोर साट्ने रणनीति बनाएको बताए ।

भरतपुर महानगरपालिकामा वातवरणमैत्री वडा घोषणा हुने वडामा ११ नम्बर वडा तेस्रो नम्बरमा पर्छ । यसअघि नै भरतपुर ७ र २१ नम्बर वडा वातावरणमैत्री वडा घोषणा भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *