राजा महेन्द्रमाथिको अपमानले जन्माएको अड्डा खारेज गरिँदै

काठमाडौं, फागुन २४ । मुलुक संघीय संरचनामा जाँदा स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने क्रममा दर्जनौं विभाग, प्रतिष्ठान तथा सरकारले गठन गरेका आयोगहरू खारेज गरिँदै छ ।

यही सन्दर्भमा सरकारले दुर्गम क्षेत्रमा तत्कालीन राजा महेन्द्रले तिब्बती सिमानाका नेपालीलाई नेपाली बजारसँग जोड्ने लक्ष्य लिएर स्थापना गरेको दुर्गम क्षेत्र विकास समिति पनि खारेज गर्दै छ ।

खारेजीमा पर्ने दर्जनौं निकायमध्ये यो समितिको भने महत्व विशेष मानिएको छ । यही समिति हो, जसले धेरै हदसम्म भौगोलिक विकटताका कारण नेपाली बजारसँगको व्यापारमा जोडिन नसकेका धेरै व्यापारीलाई नेपाली बजारसँग जोड्न योगदान पुर्याएको छ ।

समितिका सदस्यसचिव टेकराज निरौलाले अन्य समितिसँगै यसको पनि खारेजी २८ चैतदेखि हुने तयारी भइरहेको जानकारी दिए । यद्यपि यस विषयमा आधिकारिक जानकारी भने आइसकेको छैन ।

तर, तत्कालीन समयमा शक्तिशाली रहेका राजा महेन्द्रलाई तिब्बती सिमानामा पुग्दा भएको अपमानपछि राजाको विशेष पहलमा सुरु भएको यो अड्डा गणतन्त्र आएपछि अन्त्य हुन लाग्नुलाई पनि महत्वका साथ हेरिएको हो ।

तत्कालीन राजा महेन्द्र २०२२ सालतिर मुलुक बुझ्नका लागि भन्दै उत्तरी सीमा हुम्लाको यारी नाकामा पुगेका थिए । नेपालभर जतासुकै पुग्दा पनि सम्मान नै सम्मान पाउने राजा महेन्द्रले यारी नाकामा पुग्दा भने राजाको जस्तो सम्मान पाउन सकेनन् । नेपालको राजा त्यहाँ पुग्दा पनि त्यहाँका स्थानीयको ध्यान भने तिब्बततिरै थियो । यारीमा त्यतिबेला माटो नेपालको थियो तर सबै जीवनशैली र जीवन गुजाराको आधार भने तिब्बतसँग जोडिएकाले उनीहरूले नेपाललाई भन्दा पनि तिब्बती शासकलाई नै आफ्नो सम्झिन थालिसकेका थिए । त्यही डरलाग्दो स्थिति देखेका महेन्द्रले काठमाडौं फर्किएलगत्तै दुर्गम क्षेत्रको विकासको खाका तयार पार्न सरोकारवाला निकायलाई तत्कालै निर्देशन दिएका थिए ।

यो कहानी ३४ वर्षअघिदेखि यही समितिमा रहेर काम गरिरहेका इन्जिनियर विजयराज खनालले सुनाएका हुन् । महेन्द्रसँगै हुम्ला नाका पुगेका सहयोगीलाई उद्धृत गर्दै खनालले भने, ‘नेपालको हुम्ला नाकामा पुग्दा त्यहाँका स्थानीयले राजालाई गर्नुसम्मको अपमान गरे । उनीहरूलाई नेपालमा आफूहरू बसोबास गर्ने गरेको भन्ने थाहा भए पनि उनीहरूको सबै रोजीरोटीको स्रोत तिब्बतसँग नै थियो । उनीहरूले ‘तिमी राजा रैछौ, खाना खाएर जाऊ’ भनेर अपमानजनक व्यवहार गरेपछि महेन्द्र लज्जा महसुस गर्दै फर्किएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *