नेकपा स्थापनाकाे अवसर पारेर एमाले माअाेवादी एकता

काठमाडौँ, फागनु २३ । नेकपा एमाले र माओवादी केन्द्रले आगामी चैत २२ गते पार्टी एकताको घोषणा गर्ने तयारी गरेका छन् ।

गत फागुन ७ गते पार्टी एकताका लागि ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका दुई पार्टीले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको अवसर पारेर पार्टी एकताको घोषणा गर्ने तयारी गरेका हुन् । पार्टीबीच एकताको काम तीव्र गतिमा अगाडि बढिरहेको नेताहरुले बताएका छन् ।

एमाले नेता सुरेन्द्र पाण्डेले कम्युनिष्ट पार्टी स्थापनाको अवसर पारेर पार्टी एकताको घोषणा तयारी भइरहेको बताए । “कम्युनिष्ट पार्टी २००६ साल चैत २२ गते स्थापना भएको थियो, त्यसै दिन हामीले पार्टी एकताको घोषणा गर्ने तयारीका साथ काम गरिरहेका छौं,” पाण्डेले भने ।

सरकार विस्तार, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आदिले पार्टी एकताको प्रक्रियालाई कुनै असर नगर्ने उनको भनाइ थियो । “आन्तरिक रुपमा काम भइरहन्छ,” उनले भने, “विधानको बारेमा छलफल गरिरहेका छौं, ड्राफ्ट तयार हुँदैछ । पार्टीको केन्द्रीय समिति कत्रो बनाउने भन्ने कुरामा पनि छलफल भइरहेको छ ।”

माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले पनि राष्ट्रपति, उपराष्ट्रपति चुनाव र सरकार विस्तारले कार्यदलको कामलाई असर नगर्ने भन्दै आफूहरु छलफलमै रहेको बताए । “२५ गते दुवै कार्यदलले पार्टी एकताको लागि बनाएको आफ्नो रिपोर्ट प्रस्तुत गर्छौं ।”

विधान मस्यौदा कार्यदलका सदस्य एवं एमाले नेता वेदुराम भुसालले पनि प्रतिवेदन उपसमितिले पार्टी एकताको लागि काम गरिरहेको बताउँदै २५ गतेभित्र रिपोर्ट प्रस्तुत हुने बताए । “सकेसम्म हामी समयसीमा भित्र आ–आफ्नो रिपोट प्रस्तुत गर्छौं,” उनले भने ।

माधवकुमार नेपाल संयोजक रहेको प्रतिवेदन मस्यौदा कार्यदलमा भीम रावल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ, रघुजी पन्त, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत पम्फा भुसाल र देवेन्द्र पौडेल सदस्य रहेका छन् ।

त्यस्तै रामबहादुर थापा संयोजक रहेको विधान मस्यौदा कार्यदलमा इश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, रघुवीर महासेठ गिरिराजमणी पोखरेल, वर्षमान पुन, मातृका यादव र जनार्दन शर्मा सदस्य रहेका छन् ।

प्रतिवेदन लेखन उपसमितिमा भने नारायणकाजी श्रेष्ठ, भीम रावल, देव गुरुङ र प्रदीप ज्ञवाली रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *