राष्ट्रपतिमा भण्डारी र राईको उम्मेदवारी दर्ता

काठमाडौं, फागुन २३ । राष्ट्रपति पदका लागि विद्यादेवी भण्डारी र कुमारीलक्ष्मी राईले उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा एमालेले राष्ट्रपतिमा भण्डारीलाई नै दोहोर्‍याउने निर्णय गरेपछि भण्डारीले बानेश्वरस्थित संघीय संसद् भवनमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।

भण्डारीको प्रस्तावकमा एमाले नेता माधव नेपाल, महासचिव ईश्वर पोखरेल, माओवादी नेत्री एवम् पूर्वसभामुख ओनसरी घर्ती तथा समर्थकमा माओवादी नेता एवम् गृहमन्त्री रामबहादुर थापा बादल, एमाले सांसद भानुभक्त ढकाललगायत छन् ।

भण्डारीभन्दा अगाडि कांग्रेस उम्मेदवार कुमारीलक्ष्मी राईले उम्मेदवारी दर्ता गराएकी थिईन् । उनको प्रस्तावकमा चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, सुरेन्द्र पाण्डे, देवेन्द्रराज कँडेल र पार्वती डीसी चौधरी छन् भने मेखलाल श्रेष्ठ राधा घले लगायत समर्थक छन् ।

एमालेले विद्या भण्डारीलाई नै दोहोर्याउने निर्णय गरेपछि प्रतिपक्षी नेपाली कांग्रेसले राईलाई राष्ट्रपतिको उमेदवार बनाउने निर्णय गरेको थियो ।

राई पञ्चायत कालमा हत्या गरिएका भोजपुरका कांग्रेस नेता देवानसिंह राईकी छोरी हुन् । २०१५ सालमा निर्वाचित सांसद देवानसिंह वीपी कोइराला सरकारमा सहायक मन्त्री बनेका थिए ।

निर्वाचन आयोगले यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि आज अपराह्न ३ बजेसम्म मनोनयनका लागि समय तोकेको छ । संघीय संसदमा वाम गठबन्धनको स्पष्ट बहुमत रहेको छ । तसर्थ राष्ट्रपति निर्वाचनमा भण्डारी नै पुनः दोहोरिने निश्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *