अब एम्बुलेन्स सेवाका लागि एउटै नम्बर ‘१०२’

काठमाडौं, फागुन २२ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय र नेपाल एम्बुलेन्स सर्भिस (नास) बीच आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्ने बिषयमा (एमओयु) सम्झौता भएको छ । यो सम्झौता अनुसार नेपाल एम्बुलेन्स सर्भिस (नास)ले देशभर फैलिएर रहेका स्वास्थ्य चौकी, अस्पताल, हेल्थकेयर संस्थाहरुमा संचालन हुने एम्बुलेन्स सेवाहरुको एउटै नम्बर  १०२ प्रयोगमा ल्याउने छ ।

यसको ब्यवस्थापन नासले नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहकार्यमा गर्ने छ । अर्को सम्झौता अनुसार आपतकालीन स्वास्थ्य सेवा तालिम केन्द्रको स्थापना गर्ने छ ।

सोमबार भएको सम्झौता पत्रमा नीति, योजना र अन्तराष्ट्रिय सहयोग बिभागका प्रोफेसर डा श्रीकृष्ण गिरी र नेपाल एम्बुलेन्स सर्भिसका अध्यक्ष ओम राजभण्डारीले हस्ताक्षर गरेका थिए । उक्त हस्ताक्षर कार्यक्रममा स्वस्थ्य मन्त्रालयका उच्च अधिकृतहरु र नेपाल एम्बुलेन्स सर्भिसका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

नीति, योजना र अन्तर्रा्ष्ट्रिय सहयोग विभागका प्रोफेसर डा श्रीकृष्ण गिरीले हस्ताक्षर गर्दै भने, ‘हामी नेपाल एम्बुलेन्स सर्भिससँग सहकार्य गर्न पाएकोमा निकै खुसी छौं । नासले देशका बिभिन्न क्षेत्रमा आफ्नो स्तरीय सेवा दिदै आइरहेको छ । र, अब हामी सबै एम्बुलेन्स सेवालाई एउटै कल सेन्टर १०२ मा जोडेर काम गर्दैछौं, जसको ब्यवस्थापन नासले गर्ने छ ।’

नेपाल एम्बुलेन्स सर्भिसका अध्यक्ष श्री ओम राजभण्डारीले भने, ‘यो हाम्रालागि निकै महत्वपूर्ण र गौरवमय क्षण हो । जहाँ हामीले सरकारसँग मिलेर सबै एम्बुलेन्स सेवाहरुलाई एउटै नम्बर १०२मा ल्याएर कामगर्ने छौं । हामीले बिगत लामोसमय देखि स्वास्थ्य मन्त्रालयसँग मिलेर काम गर्दै आइरहेका छौं । नेपाल एम्बुलेन्स सर्भिस सधै आपत्कालीन स्वास्थ्य सेवा प्रदानमा उत्कृष्ट कामगर्दै आइरहेको छ । यो सहकार्यले हामी अत्यावस्यक स्वास्थ्य सेवा प्रदानगर्न र आपत्कालीन स्वास्थ्य सेवा दिन अझै राम्रोसँग कामगर्न सक्ने छौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *