पटिहानीको आधारभूत विद्यालयको स्वर्ण महोत्सव

भरतपुर, फागुन २२ । भरतपुर महानगरपालिका वडा नम्बर २२ वीरेन्द्रनगर टाउन पटिहानीमा रहेको राष्ट्रिय आधारभूत विद्यालय वीरेन्द्रनगरले सोमबार स्वर्ण महोत्सव सम्पन्न गरेको छ ।

स्वर्ण महोत्सव समारोहकी प्रमुख अतिथि भरतपुर महानगर प्रमुख रेनु दाहालले समारोहलाई सम्बोधन गर्दै विद्यालयहरूको भौतिक संरचनाको विकास र गुणस्तर वृद्धिका लागि महानगरपालिकाले विशेष नीति निर्माण गरिरहेको बताइन् । उनले विद्यालय शिक्षा गुणस्तरीय र व्यावहारिक नबनाइ अबको राष्ट्रिय आवश्यकता पूरा गर्ने जनशक्ति उत्पादन हुन नसक्ने बताइन् । शिक्षा क्षेत्र परम्परागत शैलीबाट माथि उठ्न ढिलो भएको बताउँदै महानगर प्रमुख दाहालले यसलाई समयसापेक्ष नीतिगत निर्णय गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाइन् ।

‘सामुदायिक विद्यालयहरू निम्न वर्गका परिवारका बालबालिका पढ्ने विद्यालय भन्ने सामाजिक मान्यता बनेको छ । यसलाई तोड्न सामुदायिक विद्यालयहरूको भौतिक र शैक्षिक गुणस्तर वृद्धि अपरिहार्य भएको छ’ उनले भनिन् । दाहालले विद्यालयमा अध्यापन गर्ने शिक्षक, काम गर्ने कर्मचारी, अध्ययन गर्ने विद्यार्र्थी र अभिभावक वर्ग सबै अब जिम्मेवार बन्नुपर्ने बताइन् ।

विद्यालयको स्वर्ण महोत्सवको अवसरमा विद्यालयका शुभचिन्तक ऋषि पौडेलले विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ५ लाख ७५ हजार रूपैयाँ सहयोग गरेका छन् । समारोहमा चन्दादाता, पूर्वशिक्षक, शुभचिन्तक र शिक्षाप्रेमी व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा वडा नम्बर २२ का अध्यक्ष विष्णुराज महतो, वडा नम्बर २३ का अध्यक्ष नरिनारायण पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । स्वर्ण महोत्सव आयोजक मूल समारोह समितिका संयोजक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर पौडेलको अध्यक्षतामा सम्पन्न समारोहमा विद्यालयका प्रधानाध्यापक किरण पौडेलले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *