गायिका जलजलाको उपचारका लागि सहयोग
“
अर्घाखाँची, फागुन १३ । अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेकी गायिका जलजला परियारलाई रु एक लाख १३ हजार ३५० सहयोग रकम हस्तान्तरण गरेको छ ।
सम्पर्क मञ्चले ,कोरियामा कार्यरत नेपालीबाट संकलन गरिएको रकमलाई एकमुष्ट गरी हस्तान्तरण गरिएको मञ्चका कोषाध्यक्ष राज खनालले जानकारी दिए । संकलित रकम मञ्चका सल्लाहकार प्रकाश बेलबासेमार्फत हस्तान्तरण गरिएको हो ।
अर्घाखाँचीको सन्धिखर्क घर भएकी मीठो स्वरकी धनी २१ वर्षीया गायिका परियार दुवै मिर्गौलाले काम गर्न छाडेपछि अहिले शिक्षण अस्पतालमा जीवनका लागि संघर्ष गरिरहेकी छिन् । ‘नेपाली तारा सिजन–३’ मा सहभागी भएपछि स्रोता तथा दर्शकमाझ चिनिएकी उनले धेरै गीतमा स्वर भरेकी छिन् । उनका ‘केही कदम’ सँगै ‘ढुंगाको मन हुनेलाई’, ‘म त रोएँ रोएँ’ लगायतका गीत चर्चित छन् ।
चलचित्र ‘बाटोमुनिको फूल २’ मा यश कुमारसँग गाएको, ‘केही कदम तिमीसँगै हिँड्ने मन छ, नजिकबाट तिमीलाई चिन्ने मन छ’ भन्ने यो गीतले उनलाई सांगीतिक क्षेत्रमा सबैसामु चिनाएको हो । तर अहिले उनै गायिका अस्पतालको शय्याबाट जीवनको याचना गरिरहेकी छिन् ।
“