क्याल्कुलेटर (बालकविता)

 

 

हिसाब गर्थे बाजेले अौँला भाँचेर
हामी हिसाब गर्दैछौँ मिसिन जाँचेर

`यति मुरी धान भयो कोदो यति पाथी
यतिको दर बेच्नुपर्दा कति हुन्छ नाति ?´
अौँला भाँच्दै सोध्नुभयो हाम्रा बाका बाले
कापी कलम झिकेँ अनि हिसाब गर्न थालेँ

जोड्ने गुन्ने मेसो पाइनँ अल्मल गरेँ अनि
हजुरबालाई गफ दिएँ फुर्सद छैन भनी
`सर, मिसले दिनुभा´को गृहकार्य टन्न
सकेपछि भन्छु एेले सक्तिनँ म भन्न´

यसो भन्दै पढ्ने निहुँमा कोठाभित्र पसेँ
क्याल्कुलेटर खोजेँ अनि हिसाब गर्न बसेँ
बाहिर अाई भनेँ -`बल्ल गृहकार्य भ्याएँ
धान-कोदोको हिसाब पनि मिलाएर ल्याएँ´

हजुरबाले सोध्नुभयो- `कसो गरिस् तैँले´
तर उत्तर भन्दिनु भो मैलेभन्दा पैले
भनेँ मैले -`उत्तर  मिल्यो साह्रै छक्क परेँ
हो हजुरबा मैले पनि त्यसै त्यसै गरेँ´

`लुकी लुकी क्याल्कुलेटर हान्ने बानी तेरो
अौँला भाँच्दै उत्तर ठ्याक्कै पार्ने बुद्धि मेरो´
हाँसी-हाँसी भन्नुभयो `क्याल्कुलेटर झिक्
तेरो मेसिनभन्दा बरु मेरै बुद्धि ठीक्´
-भोर्लेटार, लमजुङ ।

(साहित्य संगालो)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *