दूध बेचेरै घर जग्गा जोडे पौडेलले

म्याग्दी, फागुन १० । बेनी नगरपालिका–६ बाँसबोटका कृषक दुर्गा प्रसाद पौडेलले रु १८ लाखको लगानीमा पशुपक्षी फार्म स्थापना गरेका छन् ।

विसं २०५२ देखि परम्परागत रुपमा गाईभैँसी पालेर दूध बेच्दै आएका उनले पशुपालन पेशालाई व्यवस्थित र व्यावसायिक बनाउन फार्मको स्थापना गरेको बताए । फार्म स्थापनाका लागि गोठ निर्माण, गाई, भैँसी, राँगो लगायत खरिद गर्न रु १८ लाख लगानी भएको पौडेलले जानकारी दिए ।

फार्ममा हाल दशवटा मुर्रा जातको भैँसी तथा एक/एक वटा राँगो   र जर्सी गाई रहेका छन् । पौडेलको फार्मबाट दैनिक १०० लिटर दूध उत्पादन हुने गरेको छ । फार्ममा तीन जनाले पूर्णरुपमा रोजगारी समेत पाएका छन् ।

सदरमुकाम बेनी बजारमा प्रतिलिटर रु ७० का दरले दूध बिक्री गर्ने गरेको उनले बताए । पौडेलले दूध बेचेको आम्दानीले घर निर्माणका साथै सात रोपनी जग्गा समेत जोडेका छन् भने उक्त कमाइबाट छोराछोरीको पढाइ र घरव्यवहार पनि धानेका छन् ।

पौडेलले बेनीको एक निजी विद्यालयमा १४ वर्षसम्म कार्यालय सहयोगीका रुपमा काम गरेका थिए । पाँच वर्षअघि निजी विद्यालयको जागिर छोडेर भैँसीपालन शुरु गरेका उनले भैँसी खरिद बिक्रीसमेत गर्दै आएका छन् । उनले जिल्ला पशुसेवा कार्यालयबाट व्यावसायिक पशुपालन र गुणस्तरीय दूध उत्पादन सम्बन्धि तालीम पनि लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *