सांसदहरुको शपथ ग्रहण फागुन २० गते

काठमाडौं, फागुन ९ । संघीय संसदका सांसदहरुको सपथ ग्रहण फागुन २० गते हुने भएको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सूचनामा फागुन २० गते शपथग्रहण कार्यक्रम तय गरिएको उल्लेख छ ।

प्रतिनिधिसभाका जेष्ठ सदस्यले सांसदहरुलाई शपथ ग्रहण गराउने व्यवस्था छ । सांसदहरुलाई संसद् सचिवालयले राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई प्र्रमाणपत्रसहित आउन आग्रह गरेको छ ।

कुनै पनि सांसदले मातृभाषामा शपथ लिन चाहेमा पनि व्यवस्था गरेको सचिवालयले जनाएको छ । तर तीनदिनअघि नै मातृभाषामा अनुवाद गरी प्रतिसहित संसदका महासचिवलाई बुझाउनुपर्ने हुन्छ ।

सचिवालयले प्रतिनिधिसभाका सदस्यहरुलाई फागुन २० गते ४ बजे र राष्ट्रियसभाका लागि ५ बजे समय तोकेको छ ।

संसद बैठक फागुन २१ मा
संघीय संसद्को पहिलो बैठक यही फागुन २१ मा बस्दैछ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को पहिलो अधिवेशन आह्वान गरेकी हुन् । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको करिब दुई महिनापछि संघीय संसद्को बैठक बस्न लागेको हो । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक एकै दिन बस्दैछ ।

संविधानको धारा ९३ मा ‘राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र संघीय संसदको अधिवेशन आह्वान गर्नुपर्ने’ व्यवस्था छ । राष्ट्रिय सभा निर्वाचनमा भएको ढिलाइले प्रतिनिधिसभाले फागुन २ गते मात्रै पूर्णता पाएको थियो । त्यसको भोलिपल्टै फागुन ३ मा नयाँ सरकारसमेत गठन भइसकेको छ ।

प्रधानमन्त्री ओलीले आफू नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । अब बस्ने संसद्ले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख तथा उपसभामुखको पनि निर्वाचन गर्नेछ । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनका लागि फागुन २५ को कार्यतालिका सार्वजनिक गरिसकेको छ । संघीय संसद् र प्रदेशसभा सदस्यहरूको निर्वाचन मण्डलबाट राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित हुने व्यवस्था छ ।

त्यसलगत्तै सभामुख र उपसभामुखको निर्वाचन गर्ने कार्यतालिका छ । सभामुख निर्वाचित नहुँदासम्म प्रतिनिधिसभाको बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्नेछन् । नागरिकताअनुसार राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादव सबभन्दा ज्येष्ठ छन् । नागरिकताको उमेरअनुसार नै ज्येष्ठ सदस्यता कायम हुने भएकाले सम्भवत उनैले पहिलो बैठकको अध्यक्षता गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *