प्रधानन्यायाधीश माथि प्रश्न उठाउने डा. केसीकै जन्ममिति फरक(प्रमाण सहित)

काठमाडौं, फागुन ९ । ‘बुमराङ’ अर्थात् अरुलाई ताकेको बन्दुक आँफैतिर पड्कनु । यतिबेला डा. गोविन्द केसीमाथि पनि यस्तै ‘बुमराङ’ हुँदैछ । अर्थात डा. केसीले प्रधानन्याधीश गोपाल पराजुलीतिर ताकेको बन्दुक आँफैतिर पड्कन ठिक्क परेको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति फरक रहेको भन्दै नैतिकतामाथि प्रश्न उठाउने डा.गोविन्द केसीकै जन्ममितिमा गम्भीर प्रश्न उठेको छ । केसीले त्रिभुवन विश्वविद्यालयमा पेस गरेका दस्तावेजहरूमा फरक–फरक जन्ममिति भएको तथ्य फेला परेको हो ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्राध्यापक रहेका डा. केसीको एसएलसीको चारित्रिक प्रमाणपत्रमा जन्ममिति २०१३ माघ २४ गते उल्लेख छ । उपप्राध्यापक रहँदा सह–प्राध्यापकमा बढुवा हुनका लागि भरेको आवेदन फाराममा डा.केसीको जन्ममिति २०१३ मंसिर २७ गते भनि लेखिएको स्रोतले जनाएको छ ।

२०६५ साउन २९ गते प्राध्यापकमा बढुवाका लागि उनले विश्वविद्यालयमा पेस गरेको आवेदन फारममा भने असोज २७ गते २०१३ भनी डा. केसीले आफ्नो जन्ममिति उल्लेख गरेका छन् । डा.केसीले त्रिभुवन विश्वविद्यालयमा आफ्नो नागरिकताको प्रमाणपत्र समेत पेस नगरेको उच्च स्रोतले जनाएको छ ।

डा.केसीले अनिवार्य रूपमा भर्नुपर्ने सिटरोल नभरेको र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि समेत पेस नगरेकोले थप आशङ्का जन्माएको त्रिविका एक कर्मचारीले बताए । प्रधानन्यायाधीश पराजुलीको जन्ममिति फरक रहेको भनी प्रश्न उठाउने डा.केसीले अब आफ्नै जन्ममिति र नागरिकताको प्रमाणपत्रबारे कसरी स्पष्टीकरण दिने हुन् भनेर प्रश्न उठ्न थालेको छ ।

प्रधानन्यायाधीश पराजुलीमाथि नैतिकताको प्रश्न उठाएर अदालतको मानहानी मुद्दा खेपीरहेका डा. केसीले आफैमाथि उठेका प्रश्नको जवाफ भने कसरी दिन्छन् हेर्न बाँकी नै छ । मंगलबार मात्र उनले अवहेलना मुद्दामा सर्वोच्चमा जवाफ पेश गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *