लम्की र घोडाघोडीमा एमाले विजयी

धनगढी, २१ असार । कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । नगरप्रमुखमा महादेव बजगाई छ हजार ८१९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भक्तबहादुर थापाले छ हजार २५५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत गोकुल बाँस्तोलाले जानकारी दिनुभयो । उपप्रमुखमा एमालेकी टीका थापा सात हजार ९०५ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका धनादेवी चौधरीले पाँच हजार ४९ मत प्राप्त गर्नुभयो । सो नगरपालिकामा ३९ हजार २३५ मतदाता रहेकामा २८ हजार ३५४ मत खसेको थियो ।

यस्तै कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुख र उपप्रमुखमा पनि एमाले विजयी भएको छ । प्रमुखमा ममताप्रसाद चौधरी आठ हजार १६४ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लक्ष्मण चौधरीले सात हजार २३७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो ।

उपप्रमुखमा एमालेकै प्रेमकुमारी थापाले सात हजार २३४ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी दुर्गा चलाउने खड्काले सात हजार ६४ मत प्राप्त गर्नुभयो । सो नगरपालिकाको वडा नं १, ४, ५, ७, ९ र १० को वडाध्यक्षमा एमाले, वडा नं २ र ८ मा काँग्रेस, वडा नं ३, ६ र १२ मा माओवादी केन्द्र तथा वडा नं ११ मा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ । कैलालीको १३ स्थानीय तहमध्ये १२ वटाको नतिजा आइसकेको छ भने धनगढी उपमहानगरपालिकाको मतगणना जारी छ ।

वडाध्यक्षमा भाइले दाजुलाई पराजित गरे 

धनगढी उपमहानगरपालिका– ३ मा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार बलबहादुर ऐर एक हजार १३८ मत प्राप्त गरी विजयी हुँदा प्रतिद्वन्द्वी उहाँका दाजु राजबहादुर ऐर पराजित हुनुभएको छ ।

काँग्रेस उम्मेदवार राजबहादुरले एक हजार ८४ मत प्राप्त गर्नुभयो । विजयी बलबहादुरले दाजु पराजित हुँदा दुःख लागेको प्रतिक्रिया दिनुभयो । राजबहादुरले भने बागी उम्मेदवारका कारण आफू पराजित हुनुपरेको बताउनुभयो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *