भैरहवा विमानस्थलमा भ्रष्टाचार भएकाे भन्दै एडीबीले लगानी राेक्याे


“
पुस, १८, काठमाडाैं । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सन्तोष जनक नभए पछि एसियाली विकास बैङ्क (एडीबी)ले अनुदान र ऋण दुवैमा रोक लगाउने चेतावनी दिएको छ ।
एडीबीले चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले सन्तोषजनक काम नगरेको बताउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ऋण र अनुदान रोक्ने चेतावनीयुक्त पत्र पठाएको छ । एडीबीले डिसेम्बरसम्म भएका कामको मात्र भुक्तानी दिने र त्यसपछिको रकम रोक्ने जनाएको छ ।
सन् २०१८ मा उक्त विमानस्थलको ८० प्रतिशत काम सक्ने सरकारी लक्ष्य भए पनि चिनियाँ कम्पनीले राम्रोसँग काम अगाडि नबढाएका कारण हालसम्म २८ प्रतिशत मात्रै काम भएको छ । तर चिनिया कम्पनीले भने काम नभएको भन्ने विषयको खण्डन गरेको छ । चिनिया कम्पनी स्रोतले दिएको जानकारी अनुसार नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक लगायतका टोलीले १२ करोड बराबरीको रकम कमिशन स्वरूप हात पारेका छन् । सोही कमीसन रकमका कारण चिनिया कम्पनीले अार्थिक भार भोग्नु परेको र सरकारले दिने भनेको थप भुक्तानी समयमै नपाउँदा काम लक्ष्य अनुरूप हुन नसकेको चिनिया कम्पनीले स्विकारेको छ ।
एडीबीले उक्त चिनियाँ कम्पनीलाई कालोसूचीमा राखेको छ । चिनिया कम्पनीले व्यवस्थापनमा सुुधार गर्दै दैनिक साँढे २ सय कामदार परिचालन गर्दै आएको छ । उसले ठेक्का अवधि भर मै काम सम्पन्न गर्ने बताए पनि प्राविधिक कारणबस केही पछाडि जान सक्ने कामको गतिले देखाएको छ ।
अहिले आएर एडीबीले ऋण र अनुदान रोक्ने चेतावनी युक्त पत्र पठाएपछि चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनलाई दबाब परेको छ । स्रोतका अनुसार कम्पनीले नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक सहित १२ करोड कमिसन खानेहरुलाई समस्या सुल्झाउन दबाब दिएका छन् । चिनिया कम्पनीबाट अगाडी नै कमिसन खाएका पदाधिकारीहरू यति बेला एडीबीका माथिल्ला अधिकारीसँग कुरा मिलाउन सक्रिय भएका छन् ।
नागरिक उड्ययन प्राधिकरणका एक उपसचिव स्तरका अधिकारीले नाम नबताउने सर्तमा प्राधिकरणका महानिर्देशक संजिब गौतम, कार्यकारी महानिर्देशक राजन पोखरेललगायतले चिनिया ठेकेदार कम्पनीबाट १२ करोड कमिसन हात पारेको जिकिर गरेका छन् । यस विषयमा प्राधिकरणका महानिर्देशक संजिव गाैतमसँग सम्पर्क गर्न खाेज्दा उनकाे टेलिफाेनमा सम्पर्क हुन सकेन ।
२०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तराष्ट्रिय विमानस्थलका रूपमा निर्माण गर्न नर्थ वेस्ट कम्पनीले ५ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ रुपियाँमा ग्लोवल टेन्डरबाट सन् २०१८ जुलाई महिनासम्म सम्पन्न गर्ने सम्झौता गरेको थियो ।
“
