उचित ठाउँ नदिएसम्म सडकपेटी छोड्दैनौँ ! व्यवसायी
“
पुस १०, भरतपुर । भरतपुर महानगरपालिकाले नारायणगढका सडकपेटीमा व्यवसाय गर्न रोक लगाए पनि व्यवसायीहरुले टेरेका छैनन् । आइतबार नारायणगढ सडकपेटीमा पुग्दा व्यवसायीहरुले सडकपेटी नै ढाकेर व्यवसाय चलाइरहेका थिए ।
लायन्सचोकदेखि पुल्चोकसम्मको सडकपेटीमा व्यवसायीहरुले सामान फिँजाएर धमाधम विक्रीवितरण गर्दा पैदल हिँडने यात्रुहरु समस्यामा परेका थिए । नारायणगढ बजारलाई सुन्दर बनाउन महानगरपालिकाले सडकपेटीमा व्यवसाय गर्न रोक लगाए पनि कार्यान्वयनमा आएको छैन । बजार अस्तव्यस्त नै देखिएको छ ।
यसअघि महानगरपालिकाका प्रहरी, नेपाल प्रहरी उद्योग वाणिज्य संघ चितवनका प्रतिनिधिलगायतको टोलीले लायन्सचोकदेखि पुल्चोकसम्मको सडकपेटीमा व्यवसाय गर्नेलाई हटाएको थियो । हटाउने टोली आ–आफ्नो गन्तव्यमा पुगेपछि व्यवसायीहरु पुनः सडकपेटीमै आएर व्यवसाय चलाइरहेका छन् । सरोकारवालासँग छलफल गरेर भरतपुर महानगरपालिकाले यस्तो कदम चाले पनि कार्यान्वयन भएको छैन । नारायणगढको सडकपेटीमा मात्र व्यवसाय गर्ने करिब १ हजारको संख्यामा छन् ।
महानगरपालिकाले उचित ठाउँ नदिएसम्म सडकपेटीका व्यवसायीहरुले सडकपेटी नछोड्ने अड्डी कसेका छन् । खुद्रा फलफूल तथा तरकारी व्यवसायी संघकी उपाध्यक्ष रुपा धितालले महानगरपालिकाले सडकपेटीमा बस्ने व्यवसायीहरुलाई गरी खान उचित ठाउँ नदिएसम्म सडकपेटीको व्यवसाय नछोड्ने बताइन् ।
‘बाटोमा बस्न रहर छैन, २० वर्षदेखि सडकपेटीमा व्यवसाय गरिरहेको छु । हाम्रो विकल्प महानगरपालिकाले सोच्ने कि नसोच्ने ? ठाउँ नदिने ? अनि हटाउन लाठीचार्ज गर्ने ?’ उपाध्यक्ष धितालले भनिन्, ‘हामी दिनकै कर तिरेर यहाँ बसिरहेका छौँ । सडकपेटीको व्यवसायीहरुका कारण बजार अस्तव्यस्त छ, दुर्घटना बढेको छ, यस्तो बुझ्दाबुझ्दै बाध्यताले बस्नुपरेको उनी बताउँछिन् ।
सहिदचोकको सडकपेटीमा डोकोमा फलफूल बेचिरहेका माडीका रेशम सुवेदीले ग्राहकलाई सुविधा हुने गरी उपयुक्त ठाउँ दिए सडकपेटी छोड्ने बताए । उनले भने, ‘नारायणीको किनार, टिकौलीको जंगलजस्तो ठाउँ दिएर कुनै अर्थ छैन । ग्राहकले सुविधा पाउने, व्यवसायीहरुको पनि बाँच्ने आधार बन्ने ठाउँ हुनुप¥यो ।’ उनले महानगरपालिकाले उपयुक्त ठाउँ दिए सडकपेटी ढुकेर बस्न कुनै रहर नभएको बताए ।
सहिदचोकको पेटीमा कपडा बिक्रीवितरण गर्दै आएका पर्सा ठोरीका निरबहादुर विश्वकर्मा हटाउने टोली आए भाग्ने र टोली गए फेरि सामान बोकेर आउने प्रचलन चलेको १५ वर्षभन्दा बढी भएको बताए । उनले भने, ‘त्यहाँदेखि चलेको यो परम्परा अहिलेसम्म भइरहेको छ । हटाउन पनि सकेको छैन । ठाउँ पनि दिन सकेको छैन ।
महानगरपालिकाले सडकमा व्यवसाय गर्नेहरुको व्यवस्थापन गर्न खोजिरहेको छ । महानगरपालिकाले छरपस्ट हुने गरी सडकपेटीमा व्यवसाय गर्न रोक लगाए पनि आलोपालो गर्ने गरी सडकमा भएका रुखमुनिमात्र दुई जनालाई व्यवसाय गर्न दिने गरी विकल्प खोज्ने कि भन्ने विषयमा पनि छलफल चलाएको छ । ‘सडकपेटीमा व्यवसाय गर्नेहरुलाई विकल्पसहित हटाउनुपर्छ’ भरतपुर ३ का वडाध्यक्ष चन्द्रमित्र पण्डितले भने । उनले महानगरको बैठकमा फुटपथ व्यवसायीलाई सडकबाट हटाउने कुरा एक/दुई पटक उठेको र विकल्पसहित हटाउनुपर्ने आफूले धारणा राखेको बताए ।
फोटो क्याप्सन : नारायणगढको सडकपेटीमा व्यवसाय चलाउँदै ।
“