पार्टीलाई अंश दिने ९१ वर्षिय गुरूङ चाहन्छन् ‘बाम एकता हाेस्’

नेपाली कम्युनिस्ट आन्दोलनका योद्धा तथा पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक गुरु खम्बासिंह कुँवरले चुनावी तालमेल गरेका दुई पार्टी (माओवादी केन्द्र र एमाले) को पार्टी एकता भए प्रचण्ड र ओली नेपालको मात्र होइन, विश्वकै नेता हुने बताएका छन् ।

९१ वर्षका कुँवरले प्रचण्डलाई पटकपटक बाम तालमेल गर्न सुझाव दिएका थिए । ‘मैले दिएको सुझाव प्रचण्डले मानेका हुन्, मेरो सुझावपछि चुनावी तालमेल भएको हो । अब पार्टी एकता अवश्य हुन्छ । पार्टी एकता भए प्रचण्ड र ओली देशको मात्र होइन, विश्वकै नेता हुनेछन्’ कुँवरले भने ।

देशमा बदलिएको राजनीति उतारचढावबारे बुझ्न कँवरको डेरामा पुग्दा उनी विस्तारामा आराम गरिरहेका थिए । पिसाब, प्रेसर र सुगरलगायतका विभिन्न रोगबाट पीडित भएका कुँवरले दुई पार्टीको एकीकरणप्रति खुसी प्रकट गर्दै भने,‘प्रचण्ड प्रधानमन्त्री हुनुअघि र पछि पटकपटक वाम तालमेल गर्न सुझाव दिएँ, उहाँले हुन्छ भन्नुभएको थियो । त्यही अनुसार अहिले काम भइरहेको छ ।’

हाल कुँवर माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पार्टी प्रवेश गराएका कुँवरले नै हो । ‘उनी गोर्खाको आरुघाटमा पढाउँथे । म पार्टीको गण्डकी अञ्चल प्रमुख थिएँ । माक्सवादी प्रशिक्षण दिन गोर्खा आरुघाट जाँदा नै पार्टी प्रवेश गराएर प्रशिक्षण दिएँ’

प्रचण्ड चितवन आएको बेला पटकपटक खम्बासिंह कुँवरलाई बोलाएर भेट्छन् । कुँवर सर्वहारा हुन् । उनले आफ्नो पूरा अंश नै पार्टीलाई दिएका छन् । अहिले उनी भरतपुर–१२ थानीचोकमा डेरामा बस्दै आएका छन् । उनको हेरबिचार नातिनी बुहारीले गरेकी छन् । ओखतीमुलो र खानपानको खर्च पार्टीले गरिदिएको छ ।

पछिल्लो पटक चुनावको बेला कुँवरलाई बोलाएर प्रचण्डले भेटेका थिए । त्यति बेला उनले जसरी भए पनि पार्टी एकीकरण गर्न सुझाव दिएका थिए । ‘दुई पार्टी अहिले चुनावी तालमेल भए पनि पार्टी एकीकरणपछि मात्र देशको विकास हुन्छ । पार्टी एकता भएमा विभिन्न कालखण्डमा भएका गल्तीहरु पनि छोपिन्छ । देश अग्रगमनतर्फ बढ्छ’ चुनावताका उनले प्रचण्डलाई भेटेर यही भनेको हो । ‘उहाँले हुन्छ भन्नुभएको थियो’ कुँवरले भने ।

उनी जीवनको उत्तराद्धतर्फ ढल्कँदै गएका छन् । धेरै कुरा बिर्सन्छन् । ‘कति सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएको हो, त्यो पनि बिर्से, कति सालमा केके भयो, केके गरियो । यी सबै भुल्दै गएको छु’ उनी भन्छन्, ‘दीर्घ रोगहरुले झन् गलाएको छ ।’

उनको डेरामा उनलाई भेट्न उनका थुप्रै चेलाहरु आउँछन् । राजनीतिमा सबैका गुरुजस्ता भएका छन् उनी । ‘किरणजी (वैद्य) ले फोन गर्नुहुन्छ, पार्टी हेडक्वाटरबाट पनि फोन आउँछ । वैद्य र विप्लवका मान्छेहरू भेट्न आउँछन् र सल्लाह माग्छन्’ उनले भने, ‘विल्लव र वैद्यहरुले पार्टी एकीकरणलाई रुचाएका छैनन् । वाम एकतालाई दक्षिणपन्थी भन्छन् । जनवादलाई छोड्यो भन्ने आरोप पनि लगाउँछन् । उनीहरूलाई पनि मैले सही बाटो समात्नु भनेको छु ।’

प्रचण्ड प्रधानमन्त्री हुनुभन्दा पहिला कुँवरको कोठामै भेट्न गएका थिए । त्यतिबेलादेखि नै उनले प्रचण्डलाई बाम एकता गर्न सुझाव दिएका थिए । काँग्रेसको सहयोगमा प्रचण्ड प्रधानमन्त्री बन्दा उनलाई त्यति मीठो लागेको रहेनछ । दोस्रो पटक प्रधानमन्त्री भइसकेपछि भरतपुर एयरपोर्टमा प्रचण्डले उनलाई भेट्न बोलाएका थिए । ‘विश्वमै नभएको गठबन्धनसँग मिलेर सरकार बन्यो, बाम गठबन्धनसँग मिलेर चुनावी तालमेल गर्नूस् अनि पार्टी एकीकरण गर्नूस् । मैले यही भनेको थिएँ मेरो भनाइ अनुसार पार्टी एकीकरणलाई कसैले रोक्न सक्दैन’

१९८४ साल वैशाख १० गते लमजुङको बाङ्गे गाविस वडा नम्बर ७ मा बुबा ललितजंग र आमा पुतली कुँवरको कोखबाट जन्मेका कुँवरले २०११ सालमा लमजुङमा गुणबहादुर गुरुङबाट नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका हुन् । २०१५ सालमा चितवन झरेका कुँवरले सम्पूर्ण जीवन र आफ्नो जायजेथा पनि पार्टीलाई नै सुम्पे ।

‘जनयुद्ध अगाडि मैले एमालेसँग पार्टी एकताको लागि पहल गरेको थिएँ, त्यति बेला एकता हुन सकेन । युद्धकालमा पनि छलफलहरु भए । शान्तिप्रक्रियामा आएपछि पनि पटकपटक पार्टी एकताबारे छलफल चल्यो । अहिले आएर यो साकार हुँदैछ’ कुँवरले भने, ‘प्रचण्ड र ओलीले सही बाटो लिएका छन् । पार्टी एकीकरण हुन्छ । जनताले सुशासन पाउँछन् । उनीहरू नेपालको मात्र होइन, विश्वमै नमुना बन्नेछन् ।’

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *