भाडाकै घरमा चितवन ट्राफिक

पुस ५, भरतपुर । चितवनको ट्राफिक कार्यालय हालसम्म भाडाकै घरमा बसिरहेको छ । चितवन ट्राफिक प्रहरीको आफ्नै जग्गा र भवन नहुँदा स्थापनाकालदेखि नै भाडा तिरेर बसिरहेको छ । सरकारी कार्यालय भए पनि नेपाल सरकारले जग्गा खरिद र भवन निर्माणको लागि बजेट विनियोजन नगर्दा विगत लामो समयदेखि ट्राफिक प्रहरी भाडामा बस्न बाध्य भएको हो ।
घरधनीलाई हाल बसिरहेको कार्यालयको भाडा मासिक १८ हजार रूपैयाँ तिर्दै आएको छ । तीनवर्षअघि चौबिसकोठी नजिकै पूर्वपश्चिम राजमार्गमा रहेको कार्यालय तीन वर्षअघि हालको स्थानमा सरेको थियो ।

दुई वर्षसम्म १८ हजार रूपैयाँ भाडा तिर्दै आएको ट्राफिक प्रहरीले चालु वर्षको सुरू भएयता घरभेटीले दश प्रतिशत भाडा बढाएपछि हाल १९ हजार आठ सय रूपैयाँका दरले मासिक भाडा तिर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए ।

यसअघि करिब १० वर्षसम्म हाइवेमा बसेको कार्यालयलाई हालसम्म पनि सरकारले स्थायी बसोबासको व्यवस्था मिलाउन सकेको छैन । जसले गर्दा साँघुरो घरमा कार्यालय राखेर मुस्किलले काम गर्न बाध्य भएका छन् यहाँका ट्राफिक प्रहरी । हरेक वर्ष हरेक कार्यालय प्रमुखबाट स्थायी बसोबासको लागि पहल नभएका पनि होइनन् । तर, यसले अझै पनि पूर्णता पाउन सकेको छैन ।

‘अहिले हामी बसिरहेको ठाउँमा आफ्नै गाडी पार्किङ गर्ने ठाउँसमेत नहुँदा कहिले जिल्ला प्रहरी त कहिले भरतपुर विमानस्थलमा लगेर राख्नुपर्ने बाध्यता छ’ प्रहरी निरीक्षक पन्तले भने, ‘यसले गर्दा काम गर्न पनि गाह्रो भइरहेको छ ।’ उनका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालयको लागि कम्तिमा पनि पाँच कठ्ठा जग्गा भएमा सहज हुन्छ । हालको कार्यालयमा प्रशिक्षण कक्ष, पार्किङ गर्ने स्थान, कार्यरत कर्मचारी बस्ने कोठालगायतको अभाव रहेको उनले बताए ।

यो वर्ष पनि जिल्ला समन्वय समितिसँग भोगचलनको लागि भए पनि जग्गा उपलब्ध गराउन माग गरिएको उनले बताए । ‘भाडा तिरेरै भए पनि सरकारी कार्यालयकै जग्गामा बस्न पाएको भए सजिलो हुन्थ्यो,’ उनले भने, ‘जिसससँग कुरा राखेको छु । हेरौँ के हुन्छ ?’

खासमा नेपाल सरकार गृह मन्त्रालयअन्तर्गतको जिम्मेवारी हो यो । तर, मन्त्रालयले अहिलेसम्म प्रहरी कार्यालयको लागि त्यति धेरै बजेट नै नछुट्याउँदा यो समस्याको समाधान हुन नसकेको उनको भनाइ छ । हाल बसेको घरमा पनि निश्चित समयसम्मको लागि भन्ने विषयमा सम्झौता नभएकोले जुनसुकै समयमा पनि घरबेटीले उठाउन सकिने अवस्थामा रहेको उनले बताए ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *