‘एउटा पिर छ सबैलाई तर मलाई जस्तो छैन अरूलाई’

आज आफ्नो जन्मभुमिभन्दा नौ डाँडापारीबाट सम्झिरहेछु वासुदेव त्रिपाठीका माथिका यिनै हरफहरु । हरेक मान्छेलाई आफ्नै दुख,आफ्नै पीडा पहाड लाग्छ भन्छन् । त्यसबाट म पनि अछुतो रहनसक्ने कुरै भएन । किचिएको छु यो पराई भूमिमा, आफ्नै दुखको अजंगको पहाडबाट । आज पछुताइरहेको छु आफ्नै भुलबाट । जिन्दगीमा चिन्न सकिएन आत्मियता,घनिष्ठ,नङ र मासुजस्तो सम्बन्ध राख्छु भन्ने हितैषीहरु । उनीहरूकै छलछाम र धोखाधडीको सिकार भएको एउटा प्रेमी हुँ । यो पराई भूमिमा अर्काले सिँउदो रंगाइसकेको प्रेमिका र आफ्नै धोखेबाज साथीलाई बिर्सनखोज्छु तर जति बिर्सेन प्रयास गर्छु उति गाढा बनेर बस्छन् उनीहरू दिमागमा । भन्छन् नि प्रेम गरेको मान्छे हृदयमा बस्छ,घृणा गरेको मान्छे मस्तिकमा । हिजोका मेरो प्रेम आज घृणामा रूपान्तरण भएको छ ।दोलखाको जन्म,बुवा आमा यतै सेटल भइसक्नुभएको थियो । वाल्यकाल बौद्ध वरपरको मन्दिर र देवल घुमेर बित्यो । बौद्ध शेर्पाहरुको बस्ती । त्यही रहँदा बस्दा मेरो घनिष्ठ मित्र बन्न आइपुग्यो पासाङ शेर्पा । स्कुले शिक्षा रिभेरिया वोर्डिङ स्कुलमा पढ्दा देखीको कहानी हो यो । यही स्कुलदेखी वज्र कलेजमा व्यवस्थापन संकायमा अध्ययन गर्दा सम्म मेरो जीवनमा कसरी वज्र वर्सियो आज गह्रौ मन बनाएर लेख्न गइरहेको छु । आखिर मान्छेको पहिचान उसको दुखमा हुन्छ भन्थे आज मैले मेरो असल मित्रलाई नजिकवाट चिन्ने मौका पाएको छु तर समय निकै अगाडि वढिसकेको छ । मैले मेरो मित्रलाई धेरै ढिलो चिने जसले मेरै आँखा अघिवाट मेरो प्रेमिकाको हरण गरेको छ । समयले मान्छेलाई कसरी घात र प्रतिघात गर्छ । अझै समयसँगै आत्मीय भनिएका घनिष्ठ मित्रहरुले नै आँखा पछाडिबाट कसरी छुरी धस्छन ? आफ्ना फाइदा र स्वार्थका लागि कसरी मान्छेहरू गिर्छन आज दिल खोलेर लेख्दैछु । ताकि मेरा दिमागबाट फाल्न सकियोस उनीहरूको स्मृति ।

बाल्यकालदेखि अति घनिष्ट पासाङसँग मेरो कहिले नराम्रो भएन । रिभेरियामा पढ्दै गर्दा समेत उ मेरो अत्यन्त मिल्ने साथी थियो । जातले शेर्पा उदार मनको । हामीले धेरैपटक सँगसँगै वाग्मतिमा वाकटे मारेका छौँ , एउटै थालमा जुठो भात वाडिचुढि खाएका छौँ । उ शेर्पाको छोरो म क्षत्रिको छोरो हामी सानै देखी ‘लगौटी यार’का रूपमा हुर्कियौ । त्यही लगौटी यारले लुट्यो मेरो प्यार मेरो जीवन र मलाई बनायो उजाड । त्यही स्कुलमा पढ्दा देखी नै म ङिमा शेर्पालाइ मन पराउथे । उ पनि त मलाइ मन पराउथी । हाम्रो जात नमिलेर के भो मन मिलेकै थियो । जब दुई मनबीचको नेटवर्क कनेक्सन हुन्छ तब डिस्कनेक्ट गर्न अनेक व्यक्ति र तत्वहरु सक्रिय हुँदा रहेछन् । मेरो प्रेम कहानीको साक्षी थियो पासाङ । उ भन्थ्यो ङिमाजस्तो केटी पाउने त भाग्यमानी केटा होस यार । तर मेरो खुसीमाथि आँखा लाग्यो पापीको ।

म यही समाजको पात्र हुँ , जुन समाजमा आज पनि विवाह स्वीकृत छ र प्रेम तिरस्कृत । प्रेम गर्नेहरुको जोडी यो समाजबाट अपराधी झैँ दुनियाको आँखा छलि छलि हिड्नु पर्दछ आज पनि । अझै भन्न मन लागेको छ , दुनियाँमा प्रेमको विरोधी कोही छन् भने बाबु आमा छन् जो सन्तान कतै प्रेममा परेको हेर्ने चाहदैन , उनीहरू ज्विनभर प्रेमको स्त्रोत र मन्त्रोउच्चारण गर्छन् तर सन्तानले प्रेम गरे भने त्यसलाई वर्वादी ठान्छन । जुन प्रेमले दुनियाँ आवाद हुनुपर्ने थियो ,उसैलाई वर्वादीको जड ठानिएको छ यो कस्तो दुर्भाग्य ?
एसएलसी उत्र्तिण गरेपछि ङिमाकै रोजाइमा म वज्र कलेजको विद्यार्थी बन्न पुगेको थिए । दाइहरु सबै आर्थिक रूपमा सबल थिए । मलाइ लाग्थ्यो जतिसुकै आर्दशका कुरा गरे पनि जीवन जिउन आर्थिक रूपमा सबल त हुनैपर्दछ । स्वदेशमा रोजगारीको अवसर पनि त थिएन । मैले सरसल्लाह नै गरेको हो पासाङ र ङिमीसँग । उनीहरूको सरसल्लाह र सुझाव अनुसार कोरियाको लागि मैले इपिएस कोटा अन्र्तगत परीक्षा दिए । सौभाग्य भनौ वा दुर्भाग्य मेरो नाम निष्कियो । मैले कोरिया जाने सौभाग्य पाए । तर मेरो लागि यहीबाट नै दुखको दिन प्रारभ्भ भए । आज भन्दा पाँच महिना अघि देश छोडेर विदेश उड्ने वेलामा विमानास्थलमा पासाङ र ङिमी सँगै आएका थिए । मेरो अंकमालमा वेरिएर उसले भनेकी थिई ‘तिमी बिनाको एक पल पनि म जिउन सक्दिन ‘रोशन ’, तिमी सकेसम्म छिटो फर्क । पाँच वर्षको हाम्रो प्रेम बच्चाको भाटाकुटी खेल त पक्कै पनि थिएन तर खरानीको महलझै क्षणभरमा मेरो खुसीको महल ढलेको छ , सिसासरी चक्नाचुर भएर फुटेको छ ।

कहिँलेकाँही लाग्छ यो जिन्दगी पत्रै पत्र निकालेर चुँडिएको फुलजस्तो । विद्यालयदेखि विश्वविद्यालयकना तहसम्म पाठ्यपुस्तकमा पढियो तर पढ्न सकिएन यहाँका मान्छेहरू ! प्याजको जस्तै जति वटा पत्र निकाल्यो उति निक्लदै जाने जिन्दगी । यतावाट टाल्न खोज्यो उतावाट फाटिदिने । यही च्यातिएको जिन्दगीका उध्रिएको सपनाहरू बोकेर पनि हास्नुपर्ने यो कस्तो विवशता ? दुनियाँ सुखको प्याग पिउने समयमा सँगै हुन्छ तर विल्कुलै दुखको प्याग र आँसु एक्लैले पिउनुपर्दछ । हासोमा खुसीमा त दुनियाँ सधैँ वरिपरि हुन्छ साथ दिन तयार छ तर आँसु र रोदनमा आफ्नै भन्नेहरुले पनि खुच्चिम ठोक्दा रहेछन् , ताली पिट्दा रहेछन् । हो मैले पनि चिन्न सकिँन आफ्नै आत्मीय मित्र,आफ्नै प्रेम जस्लाई ठानेको थिए जीवनको एउटा अंश । थाहा छैन उसले तिमी बिनाको एक पल पनि बाच्न सक्दिन भनेर आँखाबाट अश्रुधारा वहाएपछि वाग्मतिमा कति पानी वग्यो , त्यो त वेहिसाव छ । तर ढिलो गरी आँखा खुलेको छ त्यो आशुँ नक्कली रहेछ । डढेलोले वन खाएको र जलेको त दुनियाले देख्छन तर मन जलेको कसले पो देख्दो रहेछ र ? यो बिरानो मुलुकमा मेरो मन विना आगो जलेको छ । जब सुने पासाङ र ङिमीको इन्गेजमेज्ट भयो भन्ने खबर मेरो कानमा प¥र्यो । पत्यार नलागेर मैले ङिमीलाइ फोन गरे उसले उठाइन फोन उसको आमाले उठाइन । पासाङलाइ फोन गरे । जो मेरो सुख दुखको साथी थियो । हासो खुसीको साथी थियो । उसैले भन्यो ‘रोशन तिमीलाई थाहा नै छ ,ङिमीको आमा र मेरो आमा साथी साथी हुन । उनीहरू बिच नै हामीबिच विवाह गर्ने कुरा भएछ । यो कुरा यति छिट्टो भयो हामीले नै पत्तो पाएनौ यार । ’ पटक पटक मैले ङिमी सँग सम्पर्क गर्ने प्रयास गरे तर उसले कहिल्यै फोन रिसिभ गरिन ।

मान्छेहरूले कसरी घात गर्छन् पर्दा पछाडि । आफ्नै भनिएका र विश्वासपात्र ठानिएका मित्रहरुले पनि कसरी छुरा धस्छन छात्ती पछाडिबाट । भन्छन् खुट्टा भए त जुत्ता कति कति । मनको जात न हो चाहेर पनि विर्सन नसकिने रहेछ । ङिमी मेरो जीवन थिई , प्रेम थिई , विश्वास थिई तर अव रहिन । रह्यो त केवल ऊसँग विताएका न्याना पलहरू । जो सम्झनाको तरेलीमा हरपल आउँछ र झोक्का हानेर जान्छ । आखिर एउटै मान्छेको घातले जिन्दगी कति निरश र उराठ वन्दो रहेछ । फुलजस्तो मगमग फुल्नु पर्ने जिन्दगी केवल धोखाधडी कै कारण यति निरश , यति उराठ र उति उजाड वन्दो रहेछ । आज म जिन्दगीलाई तौलिरहेछु , जोखीरहेछु यो उजाड सहरमा । पाठ्यपुस्तका शब्द , अक्षर र हरफ पढ्न त छाडिदिए तै पनि पढिरहेछु । मेरो आत्मीय, हितैषी र प्रिय भनिएका मान्छेहरू । जटिल अध्याय रहेछ जिन्दगीमा मान्छेले मान्छेलाई पढ्नु । र आज यी सबै पुराना पलहरुलाई मेटाउन चाहन्छु आफ्ना स्मृतिबाट । तर बडो गजबको लाग्छ मान्छेको मगज जुन चिज र मान्छेलाई बिर्सन खोज्यो त्यही व्यक्तिले हरपल मगजमा डेरा जमाएर बसिदिन्छ गजधम्म । म बिर्सन चाहन्छु ती धोखेबाजहरुको अनुहार तर उनीहरूकै याद आइदिन्छ हरपल हरक्षण ! आफ्नै भनिएकाहरुबाट यस्तै धोखाका सिकार हुने म मात्रै हो वा अरू पनि ?

                                                                                                     प्रवीण खड्का , हाल सियोल,दक्षिण कोरिया

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + ten =