बझाङमा समानुपातिकमा कांग्रेस अगाडि


“
मंसिर २५, बझाङ । प्रत्यक्ष तर्फका प्रतिनिधिसभा र प्रदेशसभाका सबै सिट वाम गठबन्धनले जितेको बझाङमा समानुपातिक तर्फ भने नेपाली कांग्रेसले बढी मत ल्याएको छ ।
आइतबार साँझ सकिएको समानुपातिक तर्फको मत परिणाम अनुसार कांग्रेस नै जिल्लामा पहिलो दलको रुपमा देखिएको छ । प्रतिनिधिसभाको लागि नेपाली कांग्रेसले २४ हजार ७ सय ७९ मत प्राप्त गरेको छ भने एमालेले २४ हजार ४ सय ८३ मत प्राप्त गरेको छ । त्यसैगरी माओवादी केन्द्रले ८ हजार ६ सय ५३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रदेशसभाको लागि दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कांग्रेसले नै बढी मत प्राप्त गरेको छ । प्रदेशसभाको लागि नेपाली कांग्रेसले २२ हजार ९ सय ६४ मत पाएको छ । त्यस्तै एमालेले २० हजार ८ सय ६ र माओवादी केन्द्रले १० हजार ५ सय ७६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत पुर्ण प्रसाद बास्तोलाले जानकारी दिएका छन् ।
राष्ट्रिय पार्टीको मान्यता पाउनका लागि संर्घष गरिरहेका विवेकशिल साझा, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलले ५ सय भन्दा कम मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
“
