सेमिफाइनलमा पोर्चुगल र चिली आमनेसामने हुँदै

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेलमा पोर्चुगल र चिली आमनेसामने हुँदैछन् । फाइनल प्रवेशका निम्ति दुवै टोलीका खेलाडी एवं प्रशिक्षकले आफ्नो टोली फाइनल पुग्ने दावी गरेका छन् ।

युरोपेली च्याम्पियन पोर्चुगल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने कोपा अमेरिकाको उपाधि जितेको चिली समुह ‘बी’ को उपविजेताको रुपमा दोश्रो चरणमा आइपुगेको हो । पोर्चुगल र चिली दुवै टोली जारी प्रतियोगितामा अपराजित रहेका छन् । फाइनल प्रवेशका निम्ति सो नतिजालाई कायम राख्न दुवै टोलीलाई दबाव छ ।

पोर्चुगलका लागि डिफेन्डर राफेल गुर्रेरो प्रतियोगिताको बाँकी खेलमा चोटका कारण उपस्थित हुने छैनन् । खुट्टामा चोट लागेका कारण उनलाई प्रशिक्षकले विश्राम दिने निर्णय गरेका हुन् । पोर्चुगलका लागि डिफेन्डर पेपे समूह चरणमा पाएको २ पहेंलो कार्डका कारण उपलब्ध हुने छैनन् । डिफेन्डर सेड्रिक र मिडफिल्डर बर्नार्डो सिल्भा पनि चोटका कारण सुरुवात देखि खेल्नेमा शंका रहेको छ ।

चिलीको लागि भने टोलीमा केहि समस्या रहेको छैन । अष्ट्रेलिया विरुद्धको खेलमा डिफेन्डर ग्यारी मेडेल चोटका कारण विश्राममा बसेका थिए । प्रशिक्षक जुआन एन्टोनियो पिज्जीले यस खेलका लागि मेडेल उपलब्ध रहने बताएका छन् । यसैगरी अष्ट्रेलियासँगको खेलमा कप्तान एवं गोलरक्षक क्लाउडियो ब्राभोले पनि पुनरागमन गरेका छन् । पहिलो २ खेलमा वैकल्पिक खेलाडीका रुपमा बेन्चमै रहेका उनले पोर्चुगल विरुद्ध सुरुवात गर्ने सम्भावना प्रबल छ । खेल नेपाली समयानुसार रातको ११:४५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *