फिस्लिङ दुर्घटनाका सातजना अझै बेपत्ता

मंसिर १८, चितवन । गत बुधबार इच्छाकामना गाउँपालिका–३ फिस्लिङस्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको बसमा सवार सातजनाको अझै पत्ता लाग्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार काठमाडौंबाट अर्घाखाँची जान आउँदै गरेको सो बसमा यात्रा गरी आएका र आफन्तहरूले सम्पर्कमा नआएको भनी दाबी गरेका सातजनाको अझै पत्ता लाग्न सकेको नसकेको हो ।

बेपत्तामध्ये तीनजनाको नाम चलानीमा देखिएको छ भने अन्य बीचबाटोबाट चढेको देखिएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक धर्म केसीका अनुसार बेपत्ता हुनेहरूमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ का दुर्गाबहादुर कार्की, सन्धिखर्क–१ का मनिषा थापा, धारापानी–३ का नमराज बन्जाडे, अर्घाखाँची भूमिकास्थाना नगरपालिकाका हुमकला राहु मगर, नवलपरासीका शंकर कुँवर, विकास रेग्मी र कोपिला पोखरेल छन् ।

घटनामा सातजनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए ।

लु २ ख २९१ नम्बरको उक्त बस काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नम्बरको ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको थियो । खसेको तीन दिनपछि नदीबाट बसलाई बाहिर निकालिएको थियो । घाइतेहरूको अहिले पनि काठमाडौँ र भरतपुरका अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *