खाना खाएको बेलामा पानी पिउनुहुन्छ कि हुँदैन ?
“
मंसिर १७, काठमाडौं । हाम्रो पाचनप्रणाली अनेकौं अंग, एन्जाइम र तिनीहरूबाट स्रावित पदार्थ मिलेर बनेको छ । यी सबै कुरा ठीक तरिकाले रहँदा नै पाचन प्रणालीले पनि सही रूपमा काम गर्छ । पाचन प्रणालीको ठोस र तरल दुवै भागले एकैचोटि खाना पचाउन सक्रियता देखाउँछन् ।
शरीरका लागि पानी मुख्य तत्त्व हो त्यसैले दिनभरिमा भरपूर पानी सेवन गर्दा शरीरमा आर्द्रता कायम रहन्छ र दिसा पनि नरम रहन्छ ।
खाना खाँदाखेरी पानी पिउने कि नपिउने भन्ने विषयमा दुईमत पाइन्छ ।
खाना खाँदा पेटबाट एसिड निस्कन्छ र यसैले खाना पचाउँछ । पानी पिउँदा त्यो एसिड पातलिएर त्यसले राम्रो काम गर्न पाउँदैन । धेरैजसो मानिसको मान्यता यस्तो छ । तर यो सही होइन । धेरैथरी मेडिकल स्टडीहरूका अनुसार, खाना खाँदाखेरी पानी पिउँदा पेटको पीएच स्तरमा विशेष फरक पर्दैन ।
त्यसो त खाना खाँदा पानी पिएमा खाना मज्जाले पच्छ भन्ने धारणा पनि छ । तर यो पूर्ण सत्य होइन । पाचन एक जटिल प्रक्रिया हो र यसमा धेरै तत्त्वले एकैचोटि काम गर्नुपर्ने हुन्छ । पानीको मात्र त्यसमा भूमिका हुने होइन ।
खाना खाँदाखेरी पानी पिउँदा तपाईंलाई कब्जियतको समस्या हुँदैन किनकि पानीले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्छ र पाचन प्रणालीलाई चिल्लो बनाउँछ । पानीमा भएको पोषक तत्त्व पनि खानासँग जोडिन पुग्छ । तर त्यसो भन्दैमा खाना खाँदै गर्दा एकदमै धेरै पानी पिउन भने हुँदैन । एजेन्सी
“