काँग्रसका युवा उम्मेदवार बरालकाे भोट माग्ने नयाँ शैली
“
मङ्सिर ९, पोखरा । काँग्रेसको तर्फबाट कास्की क्षेत्र नम्बर २ प्रदेश ‘क’मा उम्मेदवार बनेका युवा नेता गुरु बरालले नयाँ प्रविधि प्रयोग गरी चुनावी प्रचार प्रसारमा जुटेका छन् । समाजमा युवा पुस्तामा बढ्दो प्रविधि प्रतिको चासोलाई उमेदवार बरालले आफ्नो चुनाव प्रचारप्रसारको माध्यम बनाएका हुन् । केही समय देखि कास्कीका विभिन्न स्थानहरुमा रोबोटको प्रयोगबाट मत माग्दै आएका बरालले शनिवार कृस्तीको डाँडाबाट काँग्रेसको चारतारे झन्डा र चुनाव चिन्ह रुख सहितको ‘ड्रोन’ उडाएर मत मागेका छन् ।
‘रिमोट कन्ट्रोल सिस्टम’बाट चल्ने ड्रोनले काँग्रेसको झण्डासहित गाउँ परिक्रमा गरेको थियो । फरक शैलीबाट उनले जनमत आफ्नो पोल्टामा पार्ने तरिका अपनाई रहेका हुन् । उनले पछिल्लो पुस्तालाई प्रविधिसँग जोडेर विकास र सम्बृद्धिको क्रान्ति गर्ने साँकेतिक तरिका ‘ड्रोन’ र ‘रोबोट’ लाई मतमाग्न प्रयोगमा ल्याएको बताए ।
‘जनता लामो र पट्यारलाग्दो भाषणसहितको पुरानो शैलीको चुनावी प्रचारबाट आजित भैसकेका छन्, उनीहरू नयाँ शैलीको प्रयोग हेर्न चाहन्छन्। त्यसैले मैले प्रचारलाई अरूभन्दा केही फरक शैलीमा अगाडि बढाएको हुँ ।’ बरालले भने । उनले काँग्रेसको झण्डासहितको ‘ड्रोन’ कृस्ती गाउँमा डुलाउँदा त्यहाँका स्थानियहरुले अचम्म मानेर हेरेका थिए । गुरु बरालको यस्तो खाले चुनावी प्रचारलाई गाउँलेले निकै रुचाएका छन् ।
साथै बरालले कृस्तीको नाच्नेचौरमा घरदैलो कार्यक्रम गर्न समेत भ्याए । उनले त्यहाँका प्रत्येक घरमा पुगेर आफ्नो पक्षमा भोट मागे । ‘यो क्षेत्रको विकास र सम्बृद्धिको लागि केही गर्ने सोँचसहित तपाईँको घरमा भोट माग्न आएको छु । मेरो ऊर्जालाई खेर जान दिनुहुनेछैन भन्नेमा विश्वस्त छु । रुखमा भोट हालेर मलाई जिताउनुहोला ।’ उनले त्यहाँका मतदाताहरुसँग आग्रह गरे ।
कृस्तीका स्थानियबासीले ‘अब केही गर्नेलाई मात्र भोट दिने’ बताएका थिए । अघिल्ला चुनावहरुमा निर्वा्चित गराएका उम्मेदवारहरुले खासै काम नगरेको गुनासो उनीहरूले गरेका थिए । गुरु बरालको प्रचार शैली र युवा ऊर्जा देखेपछि उनलाई भोट दिने वचन त्यहाँका मतदाताहरुले दिएका छन् ।
“