चुनावकाे मुखमा काठमाडौँ विश्वविद्यालयले खेल्याे नयाँ खेल

“
मङ्सिर ७, काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयु) ले एमबिबिएस पठनपाठन गर्ने दुई मेडिकल कलेजलाई सिट सङ्ख्या बढाउन भन्दै काउन्सिलमा पत्र पठाएको छ । यो शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना भइसके पनि केयुले फेरि सङ्ख्या तोकेरै सिट थप्ने खेल सुरु गरेको हो ।
यो शैक्षिक सत्रका लागि काउन्सिल र केयुका विज्ञहरुको टोलीले नोबललाई ९० र विराटलाई ६५ सिट दिन सिफारिस गरेका थिए । तर, केयुले विराटनगरमा रहेको नोबल र विराट मेडिकल कलेजमा १०/१० सिट थप्ने खेल अगाडि बढाएको हो । केयु स्कुल अफ मेडिकल साइन्सेजका डिन डा राजेन्द्र कोजुले काउन्सिलमा सिट पुनरावलोकन गरिदिन पत्र पठाएका हुन् ।
चुनावको मौका छोपी केयुले नोबललाई एक सय र विराटलाई ७५ सिट पुर्याउने खेलमा लागेको हो । सिट बढाउने विषयमा कात्तिक २८ गते केयु प्राज्ञिक परिषद्को बैठक बसेको थियो । भने, सो बैठकले काउन्सिलमा सिट सङ्ख्या पुनरावलोकनका लागि पत्र लेखी पठाउने निर्णय गरेको हो ।
“








