तयार भयो चमेलिया, बिजुली बाल्ने तयारी अन्तिम चरणमा

मंसिर ४, काठमाडौं । ३० मेघावाट क्षमताको चमेलिया जलविद्युत आयोजना निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजीजीसी) ले निर्माण गरेको सो आयोजनाले आगामी बिहीबारदेखि विद्युत प्रवाह (चार्ज) गर्दैछ । आयोजनाले १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न गरिसकेको छ ।

दार्चुलाको शैल्य शिखर नगरपालिका वडा नम्बर १ बलाँचदेखि बैतडी, डडेलधुरा, डोटी हुँदै कैलालीको अत्तरियासम्म प्रशारण लाइन निर्माण गरिएको छ । ४१२ वटा टावर रहेको यो प्रशारण लाइनमा विद्युत प्रवाह गर्नुअघि आयोजनाले सार्वजनिक सूचना निकालेर टावर, तार वा अन्य संरचना छुने वा चढ्ने काम नगर्न आग्रह गरेको छ ।

यो आग्रह गर्दागर्दै पनि कसैले बर्जित क्रियाकलाप गरेर दुर्घटना भएमा आयोजना जिम्मेवार नहुने सूचनामा उल्लेख छ ।
चमेलिया जलविद्युत आयोजनाका प्रमुख अजय कुमार दाहालले डिसेम्बर १२ मा वेट टेस्ट गर्ने प्लान रहेको र कुनै समस्या नदेखिएमा तत्कालै चमेलियाबाट बिजुली बल्ने जानकारी दिए । यसअघि नोभेम्बर ४ देखि नै वेटटेस्ट शुरु गर्ने प्लान थियो । तर हेडवरक्सको काममा समस्या देखिएकाले बिजुली बाल्ने काम पछि सरेको दाहालले बताए । बन्द गर्नुपर्ने दुईवटा गेटमा यसपालीको वर्षाले क्षति र्पुयाएकाले पूरै पानी नथुनिएपछि बिजुली बाल्ने काम पछि सरेको हो ।

सिभिल तर्फ हाल हेड वर्क्समा मर्मतको काम र टनेलमा पानी भर्ने काम भइरहेको छ । २९ कात्तिकदेखि पानी भर्न शुरु गरेको र आज पानी भरिसकिने उनले बताए । बाहिरबाट कतै लिकेज नदेखिएमा बिजुली बाल्न तयारी अवस्थामा हुने उनले बताए ।

नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन चमेलिया जलविद्युत आयोजनामा दक्षिण कोरिया सरकारले ऋण सहयोग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eight =