पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरु

कात्तिक २८, पोखरा । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरु भएको छ । नेपाल चुनावी रन्कोले तातिरहेका बेला चिनियाँ निर्माण कम्पनी सीएएमसीले आफ्नै संस्कृतिअनुसार पूजा गरेर आइतबारदेखि निर्माणको काम थालेको हो ।

चिनियाँ निर्माण कम्पनीका तर्फबाट चिनियाँ परम्पराअनुसार नै पूजा गरिएपछि विमानस्थल आयोजना प्रमुख इन्जिनियर प्रदीप अधिकारीले निर्माणको काम उद्घाटन गरेका थिए । निर्माण उपकरण र मजदुरलाई जमीन सम्याउन काममा खटाएको ठेकेदार कम्पनीका पोखरा विमानस्थल परियोजनाका प्रमुख जेरी याङले जानकारी दिए ।

शिलान्यासको झन्डै २ वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सुरु भएको हो । अहिले हिउँदसम्ममा विमानस्थलको जमीन सम्याउने काम सक्ने गरी मजदुर खटिएका छन् ।

राष्ट्रिय गौरवको यो विमानस्थलको निर्माण चीनको एक्जिम बैंकको करिब २२ अर्ब रुपैयाँ ऋणमा हुन लागेको हो । विमानस्थल परियोजनाका प्रमुख जेरी याङका अनुसार अहिले १ दर्जनभन्दा बढी उपकरण र एक सय मजदुर फिल्डमा खटिएका छन् । ५० भन्दा बढी उपकरण र मजदुरीमा अधिकांश नेपाली कामदार खटिएको चिनियाँ कम्पनीका परियोजनाका प्रमुख याङले जानकारी दिए ।

दुई देशबीच सबै कानुनी जटिलता टुंगिएर निर्माण प्रक्रियामा गएको र अबको एक वर्ष डिजाइनिङ चरण रहने कम्पनीले जनाएको छ । १० जुलाई २०२१ भित्र निर्माण सकेर नेपाललाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा छ ।

एक्जिम बैंकको ऋण रकममध्ये ७५ प्रतिशत (बैंकको २ प्रतिशत ब्याजमा) र २५ प्रतिशत चीन सरकारको निब्र्याजी ऋणमा विमानस्थल निर्माण हुन लागेको हो । इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसनको मापदण्डअनुसार ‘४डी’ विमानस्थल बन्न लागेको छ । यसमा बोइङ ७५७ र एयरबस ३२० जहाज अवतरण र उड्न सक्छन् । विमानस्थलको धावनमार्ग २ हजार ५ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको हुनेछ । राष्ट्रिय र अन्तर्राष्ट्रिय टर्मिनल भवन, ४ वटा बोर्डिङ कक्ष, ट्याक्सी वेलगायतका पूर्वाधार पनि बन्नेछन् । सीएएमसीले ०७१ वैशाख २९ मा ठेक्का पाएको र निर्धारित समयमा निर्माण पूरा नगरे नेपाल सरकारलाई क्षतिपूर्ति दिने सर्त छ ।

विमानस्थलका लागि सरकारले ०३२ मा ३ हजार १ सय ६ रोपनी जग्गा लिएको थियो । त्यतिले नपुगेपछि ६ सय २९ रोपनी जग्गा थप अधिग्रहण गरिएको थियो । जग्गा अधिग्रहण, मुआब्जा वितरणलगायत स्थानीयस्तरमा सबै समस्या समाधान भइसकेका छन् ।

पूर्वप्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला दुई देशबीच ऋण सम्झौता भएर निर्माण प्रक्रिया अघि बढाउने निर्णय भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *