काभ्रे नै प्रदेश ३ को राजधानी भन्दै उम्मेदवारहरू चुनावी मैदानमा

केशवराज पौडेल, काभ्रे । आसन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका उम्मेदवारी दिएका उम्मेदवारहरूले काभ्रेलाई प्रदेश नम्बर ३ को राजधानी बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिनिधिसभातर्फ काभ्रे–२ मा वाम गठबन्धनबाट उम्मेदवार बनेका गोकुल बास्कोटाले साँघुरा सडक हुनुका साथै पुरातात्विक सम्पदा जोगाउन पनि गाह्रो परिरहेकाले काठमाडौँ उपत्यका प्रदेश राजधानीका लागि उपयुक्त नभएको तर्क गर्दै काभ्रेलाई प्रदेशको राजधानी बनाउन आवश्यक पहल गर्ने बताए ।

पाँचखाल, पनौती, खोपासीलगायत स्थान कृषिको प्रचुर सम्भावना भएको बताउँदै बास्कोटाले भने, ‘ती ठाउँको कृषिमा आधुनिकीकरण गर्दै सबै ठाउँमा सिँचाइ सुविधा पु¥याउनेछु ।’ कार्यक्रममा उम्मेदवार बास्कोटाले सुनकोसीको पानी लिफ्ट गरी सुक्खा स्थानहरूमा सिँचाइ सुविधा पु¥याउनुका साथै जलविद्युत् उत्पादन गर्न सकिने सम्भावना रहेको औंल्याए ।

काभ्रे–१ का वाम गठबन्धन उम्मेदवार गंगाबहादुर दोङले अहिलेसम्म परिवर्तका लागि लडेको बताउँदै अबको लडाइँ जिल्ला र देशको समृद्धिका लागि हुने बताए । उनले आफूलाई काभ्रेली जनताको समर्थन रहेकोमा विश्वस्त हुँदै भने, ‘यहाँका मतदाता कुनै पार्टीको उम्मेदवारको डर, त्रास, धम्की र प्रलोभनमा पर्दैनन् ।’

वामपन्थी गठबन्धनकै काभ्रे–२ ‘ख’का प्रदेशसभा उम्मेदवार बसुन्धरा हुमागार्इंले पनि काभ्रेलाई प्रदेशको राजधानी बनाउन लागिपर्ने योजना सुनाए । त्यसै गरी, कार्यक्रममा काभ्रे–१ ‘क’का प्रदेशसभा उम्मेदवार रत्न ढकालले रोजगारीका लागि विभिन्न स्थानमा पुगेका काभ्रेलीहरूलाई रोजगारीको सिर्जना गरी जिल्लामै फर्काउन पहल गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’का वाम गठबन्धन उम्मेदवार लक्ष्मण लम्सालले कृषि आधुनिकीरणका माध्यमले उत्पादकत्व बढाई काभ्रेका फलफुल तथा तरकारी ग्रेडिङ गरी देशका विभिन्न सहरमा पु¥याउन सकिने उल्लेख गरे ।

क्षेत्र नम्बर १ प्रदेशसभा ‘ख’का उम्मेदवार चन्द्र लामाले अबको निर्वाचनमा वाम गठबन्धनको बहुमतीय सरकार बन्ने र उक्त सरकारले युवा स्वरोजगारलगायतका कार्यक्रम अघि बढाई स्वदेशमा नै युवालाई आत्मनिर्भर बनाउने प्रतिबद्धता जनाए ।

नेपाली काँग्रेसका उम्मेदवारहरूले समेत काभ्रेलाई प्रदेशको राजधानी बनाउने एजेन्डालाई प्राथमिकतामा राख्ने उल्लेख गरेका छन् । प्रतिनिधिसभातर्फ काभ्रे–२ का उम्मेदवार एवं नेपाली काँग्रेसका जिल्ला सभापति मधुप्रसाद आचार्यले काभ्रेलाई प्रदेश नम्बर ३ को राजधानी बनाउने एजेन्डालाई प्राथमिकतामा राखेको बताए । उनले यसअघि काँग्रेसले काभ्रेलाई राजधानी बनाउन प्रस्ताव गरिसकेको समेत जानकारी गराए ।

काँग्रेसबाट क्षेत्र नम्बर २ ‘ख’का प्रदेश सभा उम्मेदवार कञ्चनचन्द्र वादेले जिल्लालाई प्रदेशको राजधानी बनाउन आफूहरूले भूमिका खेल्ने बताए । आफू सांसद रहेको समयमा काभ्रेलाई राजधानी बनाउनने विषयलाई प्राथमिकता दिएको उनको भनाइ थियो ।

काभ्रे–१ का काँग्रेस उम्मेदवार तीर्थ लामाले पनि काभ्रेलाई प्रदेशको राजधानी बनाउनेमा जोड दिए । काँग्रेसबाटै प्रदेशसभामा उम्मेदवार बनेका गणेश लामा, सीबी लामा र सुन्दरमणि आचार्यले प्रदेशको राजधानी महत्त्वपूर्ण मुद्दा रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 2 =