आजका बिभिन्न पत्रपत्रिकामा छापिएका सम्पादकीय यस्ता छन्

काठमाडौं, कात्तिक २१ । 

मानव तस्करको जालोः कान्तिपुर 

बालबालिकालाई सुनौलो सपना बाँड्दै चारदेखि २३ महिनासम्म लगाएर अमेरिका पुर्‍याउने जालो यतिबेला मौलाएको छ । यस्ता मानव तस्करको नजर विद्यालय शिक्षा पूरा गर्दै गरेका किशोरकिशोरीमाथि परेको छ । उज्ज्वल भविष्यको सपना देख्ने किशोरकिशोरीलाई फकाइफुल्याई लैजान खोज्नेहरू सक्रिय छन् ।

कलिलो मस्तिष्कमा अमेरिका पुगेपछि सबै थोक हुन्छ भन्ने भ्रम छर्दै पढाइ छुटाएर पठाउने तस्करको खेलप्रति राज्य संयन्त्रको ध्यान पुगेको देखिँदैन ।

ज्यान जोखिममा राखेर हवाईपछि जल र स्थलमार्गको उपयोग गरी किशोरकिशोरीलाई लैजाने गरिएको छ । यसअघि युवाहरूलाई लैजाने समूह किशोरकिशोरी तस्करीमा लागेको आशंका छ ।

मानव तस्करले फैलाएको यति ठूलो विषयमा राज्य संयन्त्र संवदेनशील नहुनु दुर्भाग्य हो । अर्थात्, नेपाल सरकार बेखबरजस्तै छ । मानव तस्करी रोक्ने सम्बन्धमा कुनै ठोस कदम चालेको पाइँदैन ।

हाम्रामा कर्मचारीहरूसँगको मिलेमतोमा नागरिकता र राहदानी सजिलै पाउन सक्ने हुनाले यस्तो समस्या सिर्जना भएको हो । यस्ता विषय छानबिन गर्न कोही पनि चुक्नु हुँदैन । मानव तस्करीको गम्भीर अपराधको जालो तोड्न सक्रियता जरुरी छ ।

आचारसंहिता पालना गरौँः गोरखापत्र 

आगामी मङ्सिर १० र २१ गते हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राखेर भदौ १४ गतेदेखि नै आचारसंहिता लागू भइसकेको छ ।   यसलाई थप प्रभावकारी बनाउन भदौ १५ गते निर्वाचन आयोगले सरकारलाई सातबुँदे निर्देशन दिएको थियो ।

यसै क्रममा आयोगबाट निर्वाचन आचारसंहिता (तेस्रो संशोधनसहित), २०७३ लाई असोजमै संशोधन तथा परिमार्जन गरी समायानुकूल बनाइएको छ ।   यो आचारसंहितालाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न कात्तिक ५ गते आयोगले १९ बुँदे नीतिगत निर्णय गरेको थियो ।

यो आचारसंहिता सरकार र सरकारी तथा गैरसरकारी निकाय, राजनीतिक दल, उम्मेदवार, सरकार र सरकारी तथा गैरसरकारी निकाय, राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, निर्वाचन पर्यवेक्षक लगायत सबै सरकारी तथा गैरसरकारी निकाय तथा व्यक्तिलाई लागू हुने आचारसंहितामा उल्लेख गरिएको छ ।

यसमा राजनीतिक दल, उम्मेदवार र सम्बन्धित व्यक्ति, नेपाल सरकार, स्थानीय तह तथा सार्वजनिक संस्था, कर्मचारी, आमसञ्चारमाध्यम, निजी तथा गैरसरकारी संस्था र ती संस्थासँग आबद्ध व्यक्तिले पालना गर्नुपर्ने आचरण समावेश गरिएको छ ।
त्यसैले स्वच्छ, निष्पक्ष, मितव्ययी, पारदर्शी र भयमुक्त ढङ्गले निर्वाचन सम्पन्न गराउन सबैको ध्यान पुग्नुपर्छ ।

सूचनामा नियन्त्रण प्रयासः नयाँ पत्रिका 

नेपालमा किन विकासले गति लिएन ? किन तोकिएको बजेट खर्च गरेर सकिन्न ? खर्च गरिसक्दा पनि तोकिएको काम किन सम्पन्न हुन्न या सम्पन्न भए पनि कमसल र छिटो बिग्रने हुन्छ ?

जनताका विभिन्न तप्कामा लक्षित कार्यक्रम किन समयमै पूरा हुँदैनन् ? भ्रष्टाचार घट्नुको साटो किन बढिरहेको छ ? यस्ता प्रश्नका अनेक जवाफ हुन्छन् । यस्तो परिणामका लागि एउटै मात्र कारण पनि हुन्न ।

तर, धेरै उत्तरमध्ये एउटाचाहिँ हाम्रो शासन प्रणालीमा रहेको अपारदर्शिता पनि अवश्य हो । र, यो सामान्य होइन, निकै महत्वपूर्ण कारण पनि हो । अपारदर्शी भएपछि नै जनताले केके भइरहेको छ भन्ने थाहा पाउन सक्दैनन् । जनताले थाहै नपाएपछि खराब र गलत काममा खबरदारी हुन्न । गल्ती गर्नेले पनि समाजमा आफ्नो अनुहार लुकाउनुपर्दैन ।

ढुक्कले असल सदाचारीको भेषमा हिँडिरहन्छ । चुहिने गाग्रीमा पानी राखेजस्तो माथिबाट जति खन्याए पनि पानी सकिइरहन्छ । पैसा जति लगानी गरे पनि प्रतिफल न्यून या शून्य हुन्छ । यसको उपचार पनि पारदर्शिता नै हो ।

सार्वजनिक करबाट चल्ने सार्वजनिक सरोकारका सबै कानुनी संस्था पारदर्शी हुनु जरुरी छ । तिनले के–के निर्णय गर्छन्, के–के काममा रकम लगानी गर्छन्, त्यस्तो निर्णयले कुन–कुन पक्षलाई फाइदा गरिरहेको छ र कसलाई नोक्सान पो गरिरहेको छ कि जस्ता सबै पक्षबारे जान्ने आधार नै पारदर्शिता हो । अर्थात् भए गरेका काम र निर्णयका सम्बन्धमा आमसरोकारवालाले थाहा पाए भने मात्र त्यस्तो निर्णयमा भ्रष्टाचारको कम सम्भावना हुन्छ ।

सूचनाको हकसम्बन्धी संवैधानिक तथा कानुनी व्यवस्थालाई नटेरी सूचना लुकाउने, जनताले जान्न चाहेको र जान्नुपर्ने विषय थाहा नदिन अनेक अड्चन खडा गर्ने प्रचलन कर्मचारी प्रशासनमा जीवितै छ  ।

निष्ठाको राजनीति गरः नेपाल समाचारपत्र  

राजनीति भनेको निष्ठाको हुनुपर्ने हो । लामो समय राजनीतिमा आफ्नो जीवन समर्पण गरेकाहरु जनताको सेवा गर्नुभन्दा पनि आफ्नो स्वार्थको मात्रै राजनीति गर्ने परम्पराले मुलुकको राजनीतिमा भ्रष्टीकरण शुरु भएको छ ।

निःस्वार्थ राजनीति गर्नेहरुको खडेरी पर्दै गएपछि मुलुकभर त्यसको प्रभाव परेको देखिन्छ । एउटा विचार र सिद्धान्तबाट नेता बनेकाहरु अवसर नपाएपछि कहिल्यै विचार नमिल्ने पार्टीमा प्रवेश गरेर राजनीतिक लाभ लिने गरेको पाइन्छ ।

यसले गर्दा राजनीतिमा शुद्धताको खोजी गर्नु भनेको दिवा सपना मात्र हो । स्वार्थमा अलमलिएका नेताहरुले निष्ठाको राजनीतिको दुहाई दिने गरे पनि ऐन मौकामा आएर मुलुक र जनतालाई धोका दिएको देखिएको छ ।

पार्टीका लागि मरिमेटेर लागेका कार्यकर्ताको भावनाविपरीत नवप्रवेशी नेतालाई स्थान दिँदा कार्यकर्ता पनि भाँडिने र स्वार्थ नमिल्नासाथ पार्टी छोडेर हिँड्ने प्रवृत्ति देखिने हुँदा त्यसतर्फ सजक हुनु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 13 =