राजनीतिको फोहोर सफा गर्न राजनीतिमा आएको ढुङ्गानाको भनाइ
“
काठमाडौं, कात्तिक २० । पूर्व सभामुख दमननाथ ढुङ्गानाले नेपाली राजनीतिमा जम्मा भएको फोहोर सफा गर्नका लागि आफू २३ वर्षपछि राजनीतिमा फर्किएको बताउनु भएको छ । भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहनु भएका ढुंगानाले आफू पाहुना उम्मेदवार नभएको प्रष्ट पार्नुभएको छ । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कारमा ढुङ्गानाले भक्तपुरमा आफनो राजनीतिक लगानी भएको दावी गर्नुभयो ।
उहाँले भन्नुभयो ‘म कुचो लिएर राजनीतिक कुचिकार बनेर भक्तपुरमा उम्मेदवारी दिएकाले यहाँबाट निर्वाचन जितेर राष्ट्रिय राजनीतिलाई नै सफा पार्नेछु ।’ बिशिष्ट परिस्थितिलाई ध्यानमा राखेर पार्टीले आफूलाई उम्मेदवारी दिएको उहाँले टिप्पणी गर्नुभयो । प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले काठमाडौ २ बाट उम्मेदवार बन्न आग्रह गरेता पनि आफूले नै भक्तपुर २ रोजेर आएको उहाँले बताउनुभयो ।
करिब २३ बर्षपछि राजनीतिमा आउनुको कारण देशमा अहिले देखिएको राजनीतिक फोहोर सफा गर्नु नै रहेको उहाँको भनाइ छ । ढुङ्गानाका प्रतिस्पर्धी एमालेका उम्मेदवार महेश बस्नेतले भक्तपुर राजधानी नजिकैको जिल्ला भएर पनि विकास निर्माणमा बत्ति मुनिको अध्यारो जस्तै भएको बताउनुभयो । भक्तपुरको समग्र विकासका लागि एमाले नै सक्रिय भइरहेकोले आगामी निर्वाचनमा पनि एमाले विजयी हुने बस्नेतले दावी गर्नुभयो ।
“