विकास निर्माणमा अग्रणी भूमिका खेलेकाले पुनः जनताले काँग्रेसलाई अवसर दिने

“
कार्तिक २०, काठमाडाैं । नेपाली काँग्रेसका नेता एवम् काठमाडाैं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रकाशमान सिंहले चुनावी प्रचार अभियानलाई तीव्रता दिएका छन् ।
नेता सिंहले चुनावी प्रचार अभियान अन्तरगत घरदैलो अभियानलाई तीव्रता दिएका हुन् । यसै क्रममा सोमबार काठमाडौँको भिमसेनगोलाबाट घरदैलो अभियान सुरु गरेका सिंहले काठमाडौँ क्षेत्र नम्बर १ को समग्र विकासका लागि जनताले आफूलाई विजयी बनाउने दाबी समेत गरे ।
निवर्तमान सांसद समेत रहका सिंह काठमाडौँ क्षेत्र नम्बर १ मा आफूले सामुदायिक विद्यालय, बाटो, ढललगायतका समग्र विकासमा उल्लेखनीय योगदान दिएको दाबी गर्दै त्यसलाई पूरा गर्न पुनः एक पटक जनताले काँग्रेसलाई अवसर दिने विश्वास पनि व्यक्त गरे । नेता सिंहले आफू विजयी भएकै कारण काठमाडौँ क्षेत्र नम्बर १ को विकास निर्माणको कामले गति लिएको पनि उल्लेख गरेका थिए ।
काँग्रेस नेता सिंह यस अघि २ पटक यस क्षेत्रबाट निर्वाचित भईसकेका छन् । नेता सिंहले संविधान जारी गर्ने कामको नेतृत्व गरेकाले मुलुकलाई समृद्धि बनाउने अभियानको नेतृत्व गर्ने अवसर पनि काँग्रेसलाई नै दिनुपर्ने तर्क पनि राखे ।
“








