राम शर्मा पौडेलद्धारा जोशीको विरुद्धमा स्वतन्त्र उम्मेदवारी

“
कार्तिक १७, पोखरा । नेपाली काँग्रेस पर्वतका नेता तथा पूर्व जिल्ला विकास समितिका उपसभापति राम शर्मा पौडेलले पर्वतबाट प्रतिनिधि सभाकोलागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । पौडेलले काँग्रसका उम्मेदवार अर्जुनप्रसाद जोशी विरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
लामो समय देखि काँग्रसको राजनीतिमा सक्रिय हुँदा समेत पार्टीले आफूलाई उचित अवसर नदिएको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । पर्वत क्षेत्र नम्बर १ मा लगातार तीन कार्यकाल प्रतिनिधि सभाको सदस्यको रूपमा अर्जुन जोशीले टिकट पाएपछि रुष्ट बन्दै आएका पौडेलले प्रदेश सभा क बाट दाबी गरेको टिकट आफूले नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
काँग्रेसका पूर्व महासमिति सदस्य तथा जिल्ला विकास समितिका पूर्व उपसभापति समेत रहेका पौडेल काँग्रेस भित्र प्रभावशाली नेताको रूपमा चिनिन्छन् । पर्बत काँग्रेसमा लामो समय सम्म जोशीको एकछत्र चलेको भन्दै त्यसका विरुद्ध उम्मेदवारी दिएको उनले बताएका छन् । उनले नेपाली काँग्रेस एउटा व्यक्तिको मात्र पेवा नभएको बताउँदै एउटै मात्र ब्याक्तीको एकल नेतृत्व सधैभरी स्वीकार्य नहुने बताए ।
उनले यस पटक पार्टीले टिकट बिक्री गरेको र संसदीय बोर्ड देखि जिल्लामा उठ्ने उम्मेदवार समेतले पैसा दिएर टिकट बाँडफाँड गरिएको बताए ।
“








