चितवन–२ को गाँठो अझै कसिलो

कार्तिक १४, भरतपुर । बाम गठबन्धनले धेरै क्षेत्रहरुको उम्मेदवारको टुङ्गो लगाउँदा पनि चितवन क्षेत्र नम्बर २ को टुङ्गो लगाउन अझै सकेको छैन । करिबकरिब देशभरका क्षेत्रहरूमा बाम गठबन्धनबाट उम्मेदवार टुङ्गो भइसक्दा पनि चितवन क्षेत्र नम्बर २ को गाँठो बाम गठबन्धनबाट फुस्कन नसक्दा यस क्षेत्रका मतदातामा कौतुहलता बढेको छ । यसको गाँठो अझ कसिलो बन्दै गएको मतदाताहरुको बुझाइ छ ।

यस क्षेत्रमा बाम गठबन्धनबाट एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोख्रेल र माओवादी केन्द्रका प्रभावशाली नेता रामबहादुर थापा ‘बादल’मध्ये कुनलाई उम्मेदवार बनाउने भन्ने विषयमा व्यापक छलफल भए पनि गठबन्धनले टुङ्गो लगाउन सकेको छैन ।
गठबन्धनले चितवन १ मा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई उम्मेदवार बनाउने भएको छ भने चितवन ३ मा पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उठाउने पक्काजस्तै भएको छ । तर चितवन २ मा कृष्णभक्त की बादलमा टुङ्गो लागेको छैन । उम्मेदवार मनोनयन गर्ने दिन नजिक आउँदा पनि क्षेत्र २ को टुङ्गो शीर्ष नेताहरूको बैठकले पनि लगाउन सकेको छैन ।

एमालेले आफ्नो बलियो आधार क्षेत्र चितवन २ नम्बर क्षेत्रलाई लिएको हुनाले उसले यस क्षेत्र माओवादी केन्द्रलाई छोड्न चाहेको छैन । यस क्षेत्रमा माओवादी केन्द्रभन्दा एमाले धेरै नै बलियो छ । यसअघि एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोख्रेललाई यहीँका जनताले जिताएर पठाएका थिए ।

‘स्थायी समितिको बैठक बसिरहेको छ, सायद भोलि (आज मङ्गलवार) यसको टुङ्गो लाग्छ’ नेकपा एमालेका जिल्ला इन्चार्ज कृष्ण खनालले भने, ‘एमालेले जिल्ला अध्यक्ष कृष्णभक्त पोख्रेलको नाम सर्वसम्मत रूपमा सिफारिस गरेर पठाएको हौँ ।’ उनले दुवैको प्रत्यक्षमा चितवन २ बाट उम्मेदवार बन्ने अवसर ५०/५० रहेको बताए ।

क्षेत्र नम्बर २ मा कालीका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरका १० वडा पर्छन् । यी ठाउँहरूमा स्थानीय तहको चुनावमा पनि माओवादी केन्द्रले भन्दा एमालेले बढी सिट जितेको छ । त्यसैले पनि एमालेले यो क्षेत्र माओवादी केन्द्रलाई छोड्न चाहेको छैन । यो क्षेत्र पनि माओवादी केन्द्रलाई दिए चितवनमा माओवादीले २ सिटमा उम्मेदवार पाउँछ । एमाले एक सिटमा खुम्चन पर्छ । त्यस कारण पनि एमाले चितवन २ माओवादी केन्द्रलाई छोड्न चाहेको छैन ।

माओवादी केन्द्रका प्रभावशाली नेता बादल २०६४ सालको चुनावमा चितवन २ बाट उठेर जितेका पनि थिए । त्यति बेला क्षेत्र २ मा रत्ननगर नगरपालिकाका क्षेत्रहरू पर्थे । चितवन २ बादलको गृहजिल्ला पनि हो । उनी माओवादी केन्द्रको शीर्ष नेतामा गनिन्छन् । उनले आफ्नो गृहजिल्ला भएका र यसअघि पनि चितवनबाट जितेका कारण माओवादी केन्द्रले चितवन २ बाट आफूले पाउनुपर्ने बताइरहेको छ ।

‘शीर्ष नेताहरू छलफल गरिरहेका छन् । आजभोलि अब टुङ्गो लाग्छ । हामीले यहाँबाट यसैले पाउनुपर्छ भन्न सकिने कुरा होइन’ माओवादी केन्द्रका जिल्ला संयोजक यमबहादुर परियारले भने, ‘बाम गठबन्धनको कार्यदल समितिले जे निर्णय गर्छ, उसैलाई हामीले मानेर जानुपर्छ ।’

उम्मेदवारको मनोनयन दर्ता सुरु हुन तीनदिन मात्रै बाँकी रहँदासमेत चितवन २ टुङ्गो लगाउन गठबन्धन सफल भएको छैन । कार्तिक १६ गते उम्मेदवार मनोनयन गर्ने दिन हो । जसले गर्दा मतदाता दोधारमा परेका छन् । को होला र कसले पाउला टिकट भन्ने विषयले अहिले चिया पसलदेखि चौकहरुमा ठाउँ पाउने गरेको छ ।

सोमबार चितवन आएका प्रचण्डले चितवन क्षेत्र नम्बर ३ को टुङ्गो लाग्ने बताए पनि यो विषय शीर्ष तहका नेताहरूलाई बढी पेचिलो बन्दै गएको बुझिएको छ । माओवादी नेता रामबहादुर थापा बादल र कृष्णभक्त पोख्रेलले दुवैले आफ्नो अडान नछोड्दा शीर्ष तहका यो विषय पेचिलो बनेको हो ।

पत्रकारसँग अध्यक्ष प्रचण्डले नेपालका ८,१० स्थानमा उम्मेदवारको टुंगो लाग्न बाँकी रहेको बताए । ‘छलफल चलिरहेको छ, सम्भवतः आज (सोमबार) बेलुका मेरो र नेकपा एमाले अध्यक्ष केपी ओलीको बैठक छ, त्यो बैठकबाट टुंगो लाग्छ’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − one =