रिसीका र समनले सानो परी एण्ड सानो बाबुको उपाधि चुमे
“
कार्तिक १३, पोखरा । सानो परि एण्ड सानो बाबु पोखरा–२०१७ को उपाधि हिल प्वाईन्ट उच्च माविमा अध्ययनरत १० वर्षीया रिसीका बसेल र गण्डकी बोर्डिङ स्कुलका ११ वर्षीय समन गुरुङले हात पारेका छन् । उनीहरूले ट्रफी, क्राउन, मेडल, गिफ्ट ह्याम्पर र विष–विष हजार रुपैयाँ नगद समेत प्राप्त गरे ।
शनिवार सम्पन्न प्रतियोगिताका लागि पोखराका २८ विद्यालयका ६८ जना नानी बाबुहरुबीच पोखरा सभागृहमा अन्तिम प्रतिस्पर्धा भएको थियो । जीत हाम्रो फाउण्डेशनको आयोजना र एस.टी क्रिएशनको सहकार्यमा बालबालिकाको अन्तरनिहीत प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले १३ औँ संस्करणको सानो परि एण्ड सानो बाबु पोखरा–२०१७ ट्यालेण्ट सो आयोजना गरिएको आयोजक संस्थाका प्रबन्ध निर्देशक राजेश जोशीले जानकारी दिए ।
त्यस्तै, प्रतियोगितामा सानो परीको फस्ट रनरअप गण्डकी बोर्डिङ स्कुलकी स्नेहा तिमिल्सीना, सेकेण्ड रनरअप मदरल्याण्ड उच्च माविकी सिसम भण्डारी, थर्ड रनरअप पोखरा युनाईटेड स्कुलकी प्रास्ना गुरुङ, फोर्थ रनरअप हिल प्वाईन्ट उच्च माविकी सुक्रिया गुरुङ, फिप्थ रनरअप सगरमाथा निकेटनकी कृषिका घिमिरेले हात पार्न सफल भए भने सानो बाबुतर्फ फस्ट रनरअप बेसलाईन एकेडेमीका ईशान गौतम, सेकेण्ड रनरअप मदरल्याण्ड उच्च माविका निश्चल बास्तोला, कुमुदिनी होम्सका असल ढकाल थर्ड रनरअप, रेम्वो एकेडेमी होम्सका स्वपनिल रानामगर फोर्थ रनरअप र ग्लोबल कलेजियतका स्वागत शाही फिप्थ रनरअप हुन सफल भए । उनीहरूले पनि ट्रफी, मेडल, क्राउन र आर्कषक पुरस्कार प्राप्त गरेका थिए । त्यस्तै सहभागी प्रतिस्प्रधीहरुले अन्य विभिन्न विधामा पनि अवार्ड मार्फत पुरस्कृत भएका थिए ।
प्रतियोगितामा ६८ जना प्रतिस्प्रर्धी बालबालिकाले आ–आफ्नो प्रतिभा र अन्तर निहित खुबीलाई हजारौँ दर्शक सामु पस्कीएका थिए । प्रतियोगितामा स्वागत नृत्य राउण्ड, परिचय राउण्ड, प्रश्न उत्तर राउण्ड र अन्तिम प्रश्नको उत्तर दिएपछि निर्णायकको अन्तिम निर्णय सुनाईएको थियो । प्रतियोगिताको कोरियोग्राफरको रूपमा मिस गण्डकी सिजन ३ की विजेता ज्योति राई, मिस गण्डकी सिजन ३ की थर्ड रनरअप सपना अधिकारी, ईनिशा दुरामगर, रोजिना अधिकारी, सुशील क्षेत्री लगायत रहेका थिए ।
प्रतिस्प्रर्धाको मूल्याङ्कनको लागी वरिष्ठ गायिका एवं शिक्षाकर्मी कौशल्या गुरुङ, मिस पोखरा २०१७ ममता जोशी, मिस गण्डकी सिजन १ की सेकेन्ड रनरअप शिपोरा थापा, अबाकस मेन्टल मेट्सका निर्देशक उपेन्द्र अधिकारी, निर्णायक संयोजक ईभेन्ट म्यानेजर सौरभ थापा रहेका थिए । सन् २००५ देखि सुरु गरिएको ट्यालेन्ट सो प्रतियोगिता मार्फत साना बाबु नानीको प्रतिभालाई उजागर गर्न टेवा पुगेको र अभिभावक तथा विभिन्न स्कुलहरुले निरन्तर सहयोग प्राप्त भइरहेको कार्यक्रम संयोजक एवं कोरियोग्राफर सुरज थापाले बताए ।
“