‘नेपालका नारी साहित्यकार’ परिचय काेश प्रकाशित

नेपाली साहित्यको इतिहास खोतल्दै जाँदा प्राथमिक चरणदेखि नै नारी सहभागिता रहेको पाइन्छ । तर पुरुष स्रष्टाका तुलनामा नारी स्रष्टाहरू सङ्ख्यात्मक रूपमा कम क्रियाशील देखिन्छन् । तथापि नेपाली साहित्यमा नारी सिर्जना उत्तिकै सशक्त र उल्लेखनीय रहेको पाइन्छ ।

बेला–बेलामा नारी स्रष्टासम्बन्धी एकाध गोष्ठी र सेमिनारहरू आयोजना हुने गर्दछन् । तर समग्र नारी साहित्यकार र तिनको सृजनाको अवस्था के–कस्तो रहेको छ ? भन्ने विषयमा भने त्यस्तो उल्लेखनीय कार्य भएको पाइँदैन । यसै सन्दर्भमा नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘नेपालका नारी साहित्यकार’ नामक परिचय कोश प्रकाशित गरेको छ ।

प्रतिष्ठानको निबन्ध तथा समालोचना विभागको परियोजना अन्तर्गत प्रा. डा. कुमार कोइराला र उप प्रा. रत्नमणि नेपालद्वारा सम्पादित परिचय कोशमा अङ्गुरबाबा जोेशीदेखि ज्ञानू पाण्डेसम्मका ३७१ जना नारी साहित्यकारहरूको संक्षिप्त परिचय समेटिएको छ । पुस्तकमा स्रष्टाका वैयक्तिक विवरणहरू वर्णाणुक्रम अनुसार राखिएका छन् । जम्मा ५२० पृष्ठको कोशमा प्रतिष्ठानका कुलपति, उपकुलपति र विभागीय प्रमुखको मन्तव्यका साथै सम्पाकद्वयको सम्पादकीय भूमिका समावेश गरिएको छ । पुस्तकमा नारी साहित्यकारका साहित्य सम्बन्धी धारणाहरू समेत अटाइएको छ ।

‘नेपालभित्र बोलिने र लेखिने विविध राष्ट्रिय भाषाका नारी साहित्यकारहरूलाई एउटै मालामा समेट्ने प्रयास गरिएको’ र ‘नेपालका नारी साहित्यकारहरूको साहित्यपरक अवस्था चित्रित गर्नुका साथै उनीहरूको समाजशास्त्रीय विश्लेषण गर्नु’ कोशको उद्देश्य रहेको सम्पाकद्वयले बताएका छन् ।

प्रज्ञा–प्रतिष्ठानबाट ‘नेपाली महिला साहित्यकार’, ‘नेपालका महिला कथाकाहरू’, ‘नेपालका महिला कथाकारहरू भाग–१ र २’, ‘नेपाली डायास्पोरका नारी कथाकार र कथा’, ‘नेपाली कवितामा महिलालेखन’, ‘नेपाली नारीवादी समालोचना’ र ‘प्रज्ञा समकालीन नेपाली नारी कविता’जस्ता कृतिहरू प्रकाशित गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =