पोखरामा १ करोड फूलको कारोबार

कात्तिक ३, पोखरा । धनधान्यकी देवी लक्ष्मी, उज्यालो र फुलको पर्वको रूपमा चिनिने तिहारमा पोखरामा करिब १ करोडको फूलको कारोबार भएको व्यवसायीहरुले बताएका छन् । तिहारमा कपडा र गरगहनादेखि पूजा सामग्री र फूलसम्मको किनमेल हुन्छ । तिहारका लागि विविध सामग्री आवश्यक भए पनि फूललाई विशेष मानिन्छ । पछिल्लो समयमा देश परनिर्भरता तर्फ उन्मुख हुँदै गएपछि दैनिक पुजापाठ र विशेष समारोहमा आवश्यक पर्ने फुल समेत भारतबाटै आयात हुँदै आएको पोखरामा यस पटक भने करिब ८० प्रतिशत आन्तरिक उत्पादनले धानेको व्यवसायीले बताएका छन् । अघिल्लो वर्षहरूमा भारतबाट करिब ४० प्रतिशत फूल आयात हुँदै आएको थियो तर, गत वर्ष भारतले लगाएको नाकाबन्दी पछि व्यावसायिक उत्पादन र फुलको ब्यवसायीकीकरण भएका कारण उत्पादन बढेको हो ।

पछिल्लो समय कास्की र आसपासमा फूलखेति गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । यस क्षेत्रको फूलको व्यापारी केन्द्र नै पोखरा भएको फ्लोरिकल्चर एशोसियसन कास्कीका सचिव बलराम श्रेष्ठले जानकारी दिए । उनले पोखरा फूलमा आत्मनिर्भर हुर्दै आएको बताए । फुलको व्यावसायिक उत्पादन क्रमिकरुपमा हुँदै जाने हो भने केही वर्षमै भारतीय फुलको आयात बन्द हुने उनको भनाई छ । अघिल्ला वर्षहरूमा ३० देखि ४० प्रतिशत सयपत्री तिहारका लागि मात्रै भारतबाट आयात हुने गरेको थियो । श्रेष्ठका अनुसार पोखरामा तिहारका लागि मात्रै करिब १ करोडको फूल बिक्री हुने  गर्दछ ।


पोखरामा नर्सरी निर्माणगरी व्यावसायिक पुष्प व्यवसाय गर्ने किसानहरूको सङ्ख्या तीन दर्जन पुगरेको छ । व्यावसायिक पुष्प खेती बाहेक तिहारलाई लक्षित गरी सयपत्री फूलको खेती गर्ने किसानहरू बढेको श्रेष्ठले बताए । पोखराको विरौटामा एकदशक देखि सयपत्री फूलको व्यावसायिक खेती गर्दै आएका दिलबहादुर गुरुङले पछिल्लो सय पोखरा पुलमा आत्म निर्भर बन्दै गएको बताए । उनले आफूले सयपत्री फूलको बिक्रीबाट मात्रै करिब ७ लाख आम्दानी गर्ने गरेको बताए । पोखरामा अहिले एउटा फूलको मूल्य ५ रुपैयाँ र एउटा मालाको ७० रुपैयाँ देखि ३ सय सम्ममा बिक्री हुँदै आएको छ ।

पोखरामा दैनिक जसो हुने विभिन्न कार्यक्रम,तिहार र प्रणय दिवसको लागि आवश्यक फूल भारतबाट आयात हुँदै आएको फ्लोरिकल्चर एसोशिएसन कास्कीले जनाएको छ । पोखरामा तिहारमा आवश्यक फूल वरपरको छिमेकी गाउँ सहित स्याङजा, बागलुङ, गोरखा, धादिङ लगायतका ठाउँबाट आयात हुन्छन् । फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार, हाल नेपालमा ४२० प्रजातिका फुल उत्पादन भइरहेका छन् । तर, पोखरा क्षेत्रमा भने ३०० प्रजातिको फुल उत्पादन भइरहेको छ । कास्कीको कालीका, लाहाचोक, घाचोक, भरतपोखरी, शिसुवा लगायतका ठाउँमा फूल खेती बढेको छ । काठमाडौँ उपत्यकाबाट सुरु भएको व्यावसायिक फूल खेती धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, सुनसरी, झापा, कपिलवस्तुलगायत ४१ जिल्लामा विस्तार भएको छ ।

७०० भन्दा बढी कृषक व्यावसायिक फूल खेतीमा लाग्दा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १४ हजारभन्दा बढी व्यक्ति यो व्यवसायमा जोडिन पुगेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *