आमाले छाडीन, बाबु परे जेल, दुर्इ बचेराकाे भयाे विजाेक

प्रकाश धौलाकोटी, तेह्रथुम । आठराई गाउँपालिका–४ तेह्रथुमका दश वर्षे निर्जल खपाङ्गी मगरलाई दुई वर्षको नहुँदै आठ वर्षअघि आमाले छाडेर गइन् । त्यति बेला पाँच वर्षका उनका दाजु निर्मल अहिले १३ वर्ष पुगेका छन् । आठ वर्षअघि आमाले छाडेपछि यी दुई बालकको विचल्ली भएको छ । आमाको माया गुमाइसकेका उनीहरूलाई बुबा मानबहादुरले पनि समय दिन सकेनन् ।

आमाले छाडेपछि बाबुको पनि अवस्था नाजुक बन्यो । गरिबी र अशिक्षाले पिल्सिएको मानबहादुरको घरमा साँझ बिहान चुलो बाल्नै मुस्किल प¥यो । सँगसँगै काम गर्दै बनिबुतो गरेर दुई छाक हातमुख जोर्दै आएकी श्रीमतीले छाडेर अर्कैसँग गएपछि मानबहादुरले अत्यधिक मादक पदार्थ सेवन गर्न थाले । छोराहरुको हेरचाह पुगेन । दुवै छोराहरू सानैदेखि छरछिमेककै आडमा हुर्किए, डुल्ने घुम्ने बानी लाग्यो । श्रीमतीले छाडेपछि विरक्तिएका मानबहादुर पनि छोराहरुको असल अभिभावक बन्न सकेनन् । अन्ततः मानबहादुर गत असारमा जबर्जस्ती करणीको आरोपमा जेल परे । त्यसयता दुई बालकको झनै बिचल्ली भएको छ । उनीहरूको आफ्नो घर भए पनि त्यहाँ चुलो नबलेको वषौँ भएको छ ।

मानबहादुरको भागमा करिब तीन रोपनी जमिन रहेको भए पनि त्यो पनि अंशबण्डा भएको छैन । अहिले त्यो जमिनमा खेतीपाती लगाउने मान्छे पनि छैन । निर्मल र निर्जल तीन महिनादेखि विद्यालयमा नियमित छैनन् । स्थानीय जनता आधारभूत विद्यालयमा कक्षा–८ मा पढ्ने निर्मल र कक्षा–३ मा पढ्ने निर्जल दुवैको पढाइ लथालिङग अवस्थामा छ । छिमेकी कहाँ बसेर पढ्न जाने गरे पनि उनीहरूको खाने, बस्ने र हिँड्ने कुनै ठेगान छैन ।

गाउँमा अहिले तिहारको रौनक छ । तर, यी दाजुभाइलाई न त दसैँ आयो, न त तिहार नै अाएकाे छ । बाटोमै भेटिएका निर्मल भन्छन्, ‘आमाले छाडिन्, बुबा जेलमा छन्, हामीलाई न दसैँ आयो, न त तिहार नै ।’ बाबुआमा दुवै भएर पनि टुहुरा बनेका यी दुईको न त भोक मेटाइदिने बाबु छन्, न त रुन कराउन आमाको काख नै ।

विद्यालय जाने बेला यिनका हातमा कापी, किताब र झोला हुँदैन, न त लगाउने विद्यालय पोशाक नै हुन्छ ? कहिले भोकै विद्यालय पुग्छन्, त कहिले कति बजे विद्यालय पुग्ने भन्ने नै थाहा हुँदैन । सानो छँदाको कुरा सम्झिँदै निर्मल भन्छन्, ‘बुबाले मादक पदार्थ सेवन गरी आएर आमासँग झगडा गर्थें, पछि आमाले पनि छाडेर हिँडिन् ।’

आमाले छाडेर अर्कैसँग पोइला गएकी उनले बताए । आमाले छाडेपछि आफूहरू मामली पनि नगएको उनी बताउँछन् । आमा बाबुले छाडेपछि दुई बालकको विचल्ली भएको पूर्ववडाध्यक्ष गंगाप्रसाद इङनामले बताए ।

‘बाबुआमा नहुँदा बच्चाको कस्तो हालत् होला ? यिनीहरूको त्यस्तै हालत छ,’ उनले भने । आफूले दुई बालकको हेरचाहका लागि उनका आफन्तसँग कुरा गरे पनि कसैले चासो नदिएको उनले बताइन् ।

‘यिनलाई कसैले वास्ता गरेनन्,’ उनले भने, ‘त्यसैले छरछिमेकमै बसेर पढ त भनेका हौँ, तर भनेजस्तो कहाँ हुन्छ र ?’

दुई बालकको अवस्थाबारे सबैले चासो राखेका छन् तर कतैबाट पनि उनीहरूको उद्धारका लागि उल्लेख्य पहल नभएको छिमेकीहरूको भनाइ छ ।

‘निर्मल र निर्जलका लागि कसैले सहयोग गरिदिए हुन्थ्यो,’ छिमेकी कल्पना घिमिरेले भनिन्, ‘दुवैजना सानै छन्, यो बेला पढ्न, लेख्न पाउनु उनीहरूको नैसर्गिक अधिकार नै हो, तर कसले गरिदिने त्यस्तो व्यवस्था ?’

साँझ बिहान जताततै हिँड्ने भएपछि बालकैमा कुलतमा फस्ने सम्भावना पनि रहेको स्थानीयबासीको चिन्ता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − three =