वीपी प्रतिष्ठानको शिक्षाध्यक्षमा डा. खनाल नियुक्त
“
असोज २७, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा.डा. गुरु खनाल नियुक्त भएका छन् । स्वास्थ्यमन्त्री गिरीराजमणी पोखरेलले डा. खनाललाई ५ वर्षका लागि प्रतिष्ठानको शिक्षाध्यक्षमा नियुक्त गरेका हुन् ।
डा. खनाल यस अघि प्रतिष्ठानको डेपुटी अस्पिटल डाइरेक्टर भइसकेका व्यक्ति हुन् । प्रतिष्ठानको हाडजोर्नी विभागका प्रमुख समेत रहेका डा. खनाल प्रतिष्ठानको स्थापना कालदेखि कार्यरत चिकित्सक हुन् । उनी माओवादी केन्द्रको कोटाबाट शिक्षाध्यक्ष भएका हुन् । प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. विक्रम प्रसाद श्रेष्ठको पदावधि सकिएपछि डा. खनाललाई शिक्षाध्यक्षमा नियुक्त गरिएको हो ।
राजनीतिक भागवण्डामा प्रतिष्ठानका पदाधिकारी नियुक्ति गर्ने प्रावधान छ । प्रतिष्ठानको शिक्षाध्यक्ष हुनका लागि प्रतिष्ठानका आधा दर्जन चिकित्सक लाइनमा थिए । डा. वीएन यादव, डा. प्रल्हाद कार्की, डा. सिएस अग्रवाल लगायत शिक्षाध्यक्षको लाइनमा थिए ।
प्रतिष्ठानका उपकूलपति डा. राजकुमार रौनियारले आफ्ना निकटका सहकर्मी डा. वीएन यादवलाई शिक्षाध्यक्ष बनाउन कोसिस गरे पनि स्वास्थ्यमन्त्री पोखरेलले डा. खनाललाई नै बनाउनुपर्ने अडान राखेका थिए ।
“