विदेशमा कमाएको नाम र दाम मातृभूमिका लागि …

विष्णु जोशी, धनगढी । प्रवासमा कमाएको केही अंश मातृभूमिको लागी पनि छुट्याउन प्रवासी सुदुरपश्चिमेलीहरुलाई यस क्षेत्रका बुद्धीजिवीहरुले आग्रह गरेका छन् । विदेशमा पसिना बगाएर कमाएको केही अंश मातृभूमिका नाममा छुट्याउनका लागी यस क्षेत्रका नागरिक अगुवाहरुले आग्रह गरेका हुन् । धार्मिक र प्राकृतिक पर्यटकीय क्षेत्रले भरिपूर्ण सुदुरपश्चिममा लगानी डुव्ने खतरा नभएकाले विदेशमा सिकेको ज्ञान, सीप र प्रविधिको भरपुर प्रयोग गर्दै प्रवासी सुदुरपश्चिमेलीहरुले लगानी गर्नुपर्ने नाटा सुदुरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्टले बताए ।

सुदुरपश्चिम समृद्ध बनाउने अभियानमा आफ्नो भूमिका के हुन सक्छ भन्ने कुरालाई केन्द्रविन्दुमा राखेर सोच्न र त्यसैअनुरूप काम गर्न प्रवासी सुदुरपश्चिमेली युवाहरूलाई आग्रह पनि गरिएको छ । सुदुरपश्चिमबाट शिक्षा, कृर्षी र स्वास्थ्यका नाममा सबभन्दा बढी पैसा बाहिरिइरहेकाले त्यसलाई रोक्न स्वदेशमा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षामा लगानी बढाउनु अपरिहार्य रहेको छ भने यहाँका पर्यटकीय क्षेत्रमा पर्यटक भित्र्याउनका लागी पनि लगानी गर्नुपर्ने देखिएको छ ।

स्थानीय तहको चुनाव भएपछि संविधान कार्यान्वयन भईसकेकाले लगानीको वातावरण बनेको छ, धेरै सुदुरपश्चिमेलीहरु युवाहरू पनि आफ्नै मातृभूमिमा अवसर खोजिरहेका छन् । यो प्रवासी सुदुरपश्चिमेलीहरुका लागी प्रदेश नम्बर ७ लाई समृद्ध बनाउन योगदान पुगाउने उपयुक्त समय मानिएको छ । यो मौकालाई सदुपयोग गर्न प्रवासी सुदुरपश्चिमेलीहरुले चुक्न नहुने र नीति निर्माण तहमा सघाउने नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नम्बर ७ का अध्यक्ष शङ्कर बोगटीले बताए ।

संविधान कार्यान्वयनको सुरुवातसँगै सुदुरपश्चिममा पनि लगानीको वातावरण बनेको उल्लेख गर्दै प्रवासी सुदुरपश्मिेली युवाहरूले समृद्ध सुदुरपश्चिम बनाउने अभियानमा आफ्नो बलियो उपस्थित हुने दाबी गरेका छन् । विश्वभर छरिएर रहेका सुदुरपश्चिमेली युवाहरूले आफ्नो आर्जन र सीपबाट यस क्षेत्रलाई समृद्धीको बाटो तर्फ लम्काउनका लागी धनगढीमा पहिलो पटक भेला भएर छलफल पनि सुरु भइसकेको छ । त्यसैले सुदुरपश्चिममा रहेका प्रचुर सम्भावनालाई वास्तविकतामा बदल्नका लागी प्रवासी सुदुरपश्चिमेलीहरु एकजुट भएर लाग्ने अन्तर्राष्ट्रिय नेपाली सुदुरपश्चिमेली समाजका सल्लाहकार नरेन्द्र भाटले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *