काग्रेसबाट स्थानीय तहमा पराजित उम्मेदवारले यसपाली पालो नपाउने

काठमाडौं, असोज २० । नेपाली कांग्रेसले समानुपातिक तर्फबाट सांसद् बनेकालाई फेरी समानुपातिक सांसद नबनाउने गरि उम्मेदवार छनोटको मापदण्ड तय गर्ने भएको छ । काग्रेसको आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा स्थानीय तहको चुनावमा प्रमुख, उपप्रमुखबाट पराजित उम्मेदवारले पनि प्रतिनिधिसभा र प्रदेश सभामा उम्मेदवार बन्न नपाउने प्रस्ताव पेश भएको छ ।

महामन्त्री शशांक कोइरालाले बैठकमा पेश गर्नुभएको प्रस्ताव पारित भए समानुपातिकबाट सांसद बनेकाहरु अब प्रत्यक्षमा चुनाव लड्नुपर्ने छ । स्थानीय तह निर्वाचनमा पराजित उम्मेदवारले यसपटक कुनै पनि तहमा उम्मेदवार बन्न पाँउदैनन् । स्थानीय तहको चुनावमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवार, तिनका प्रस्तावक तथा समर्थक र अन्तर्घात गरी कारबाहीको माग भएकाहरुलाई पनि उम्मेदवार नबनाइने भएको छ ।

बैठकमा महामन्त्री कोइरालाले समानुपातिक तर्फका उम्मेदवारको सूची २५ गते भित्र नै टुंग्याउने प्रस्ताव समेत केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गर्नुभएको छ । राष्ट्रिय एकता र लोकतान्त्रिक प्रकृयालाई अवरुद्ध गर्ने गरी एमाले नेतृत्वमा कम्युनिष्ट गठबन्धन निर्माण भएको भन्दै कांग्रेसले त्यसका विरुद्ध जुध्नका लागि लोकतान्त्रिक गठबन्धन निर्माणको प्रस्ताव समेत बैठकमा राखेको छ ।

यद्यपि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णयानुसार लोकतान्त्रिक गठबन्धनको पहल भने अघि बढाइसकेको छ । त्यही निर्णयलाई अनुमोदन गराउन कांग्रेसले केन्द्रीय कार्यसमितिमा पनि लोकतान्त्रिक गठबन्धन निर्माणको प्रस्ताव ल्याएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *