कांग्रेसको कार्यसम्पादन समितिको बैठक जारी

“
काठमाडौं, असोज १८ । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बालुवाटारमा बसिरहेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको बैठकमा चुनावी तयारी र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ ।
मुलुकका तीन वामपन्थी पार्टी नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीले चुनावी तालमेल र पार्टी एकतासम्म गर्ने घोषणा गरेपछि कांग्रेस पनि आफ्नो रणनीति बनाउने तयारीमा लागेको हो ।
पछिल्लो राजनीतिक परिस्थितिबारे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणा, राष्ट्रि«य जनता पार्टी (राजपा) नेपाललगायतसँग परामर्श गर्ने बताइएको छ ।
मंगलबार पनि उनले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राप्रपाका अध्यक्ष कमल थापा र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारसँग छलफल गरेका थिए ।
आजको बैठकमा नेपाली कांग्रेसले सरकार, आसन्न निर्वाचन र पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउने विषयमा छलफल गर्ने बताइएको छ ।
त्यसैगरी, बृहत् लोकतान्त्रिक शक्ति निमार्णका लागि पनि आजको कार्यसम्पादन समितिको बैठकमा छलफल हुने जनाइएको छ ।
“








