म्याग्दीमा जिप दुर्घटना, १२ जना घाइते

म्याग्दी, असोज १० । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, महभिरमा सोमबार साँझ बोलेरो जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

बेनीदेखि घराम्दी जाँदै गरेको ध १ ज ६६८ नंको जिप दुर्घटना हुँदा घाइते भएका छजनालाई बेनी अस्पतालबाट थप उपचारका लागि राति नै पोखरा लगिएको छ । एकजनाको बेनी अस्पतालमा उपचार भइरहेको र पाँचजना उपचारपछि घर गएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

प्रहरीका अनुसार अन्नपूर्ण गाउँपालिका–७ की ३० वर्षीया लक्ष्मी गर्बुजा, २५ वर्षीया ममता पुर्जा, करिना फगामी, चालक ध्रुव थजाली र सवारी धनी तुलबहादुर फगामीको रिजनल हस्पिटल र लालदेवी गर्बुजाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।

बाह्र वर्षीया वर्षा फगामीको बेनी अस्पतालमा उपचार भइरहेको छ भने पाँचजना उपचारपछि राति नै घर फर्किएको प्रहरीले जनाएको छ ।

सडकबाट करिब ४० मिटर तल जिप खसेर दुर्घटना हुँदा घाइते भएकाहरुलाई स्थानीयवासी, प्रहरी र यातायात व्यवसायीले उद्धार गरेर राति नै बेनी ल्याएका थिए । साँघुरो, घुमाउरो र उकालो जीर्ण सडकमा क्षमताभन्दा बढी यात्रु बोकेकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *