‘रिंगरोड निर्माणको काम तत्काल अगाडि बढ्छ’

“
भरतपुर । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले महानगरको रिंगरोड निर्माणको काम तत्काल अगाडि बढ्ने बताएकी छन् । भरतपुर महानगर वडा नम्बर ५ ले गरेको चाडबाड (दसैँदेखि ल्होसारसम्म) को शुभकामना आदानप्रदान कार्यक्रममा मेयर रेनु दाहालले महानगरको सहरी क्षेत्र र ग्रामीण क्षेत्रको विकास सँगसँगै लैजाने र रिंगरोड निर्माणको कामलाई पनि अगाडि बढाइने उनको भनाइ थियो ।
महानगरको विकास र सम्वृद्धिका लागि एकताको खाँचो रहेको उनको भनाइ थियो । तत्कालीन, अल्पकालीन, दीर्घकालीन महानगरले तीन चरणको योजना तर्जुमा गरी बृहद गुरुयोजनासहित विकासको नयाँ मोडल स्थापित गर्ने उनको भनाइ थियो ।
‘विकास निर्माणको योजना दबाब र प्रभावको भरमा नभई आवश्यकताको आधारमा महानगरको विकासमा अघि बढ्छु’ मेयर रेनु दाहालले भनिन् । कार्यक्रमको प्रमुख अतिथिसमेत रहेकी दाहालले देशको उत्कृष्ट महानगरपालिका बनाउनेबाहेक आफ्नो कुनै स्वार्थ नरहेको बताइन् ।
आन्तरिक एवम् बाह्य स्रोत साधनको अधिकतम प्रयोग र परिचालन गरी अगाडि बढ्ने उनको भनाइ थियो ।
‘कविलासदेखि गोलाघाटसम्म फैलिएको भरतपुर महानगरलाई पर्यापर्यटन शिक्षा, स्वास्थ्यको हब बनाउन म अगाडि बढ्नेछु’ उनले भनिन्, ‘देशकै दोस्रो उत्कृष्ट, सफा र सुन्दर महानगर बनाउन लाग्नेछु ।’
कार्यक्रममा सांसद उमा अधिकारीले लामो समयपछि स्थानीय सरकार आएकोले अब विकास निर्माणको कामलाई द्रुर्त गतिमा अगाडि बढाउनुपर्ने बताइन् । जनप्रतिनिधिहरूले कुनै दल विशेषको नभई सबैको भएर काम गर्न सुझाइन् । भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले दिगो र आत्मनिर्भर विकासका लागि आन्तरिक कर प्रणाली मजबुद हुनुपर्ने बताउँदै महानगरको विकासमा सबैको सहयोग आवश्यक भएको बताए ।
टोल विकास समितिका अध्यक्ष केसवराज शर्माले टोल छिमेकका समस्याहरू समाधान गरिदिन आग्रह गरेका थिए । कार्यक्रममा माओवादी केन्द्रका वडाअध्यक्ष निलकन्ठ अधिकारी एमालेका वडा अध्यक्ष बुद्धिनाथ खरेललगायतले वडावासीको आवश्यकतालाई ध्यानमा राखेर विकास निर्माणको कामलाई अगाडि बढाउन सुझाव दिएका थिए । पाँच नम्बर वडाका अध्यक्ष पदमपाणी पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
“








