रौतहटमा नेपाली काँग्रेस र माओवादी केन्द्रबिच प्रतिस्पर्धा

असाेज ४, राैतहट । रौतहटको प्रारम्भिक मतपरिणाम अनुसार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबिच प्रतिस्पर्धा देखिएकाे छ । १६ नगरपालिका र २ गाउँपालिका रहेको रौतहटमा बुधवार बिहानको पछिल्लो मतपरिणाम अनुसार नेपाली काँग्रेसले ७ वटा स्थानीय तहमा अग्रता लिएको छ । भने, काँग्रेसलाई पछ्याइरहेको माओवादीले ६ स्थानीय तहमा, सङ्घीय समाजवादी फोरमले तीन र नेकपा एमालेले दुई स्थानीय तहमा अग्रता लिएको छ ।

राष्ट्रिय जनता पार्टीको पकड मानिने रौतहटमा प्रारम्भिक मतपरिणाममा भने पछि रहेको छ । नेपाली काँग्रेसले परोहा, इश्नाथ, गढीमाई, फतुवा विजयपुर, राजदेवी, गरुडा नगरपालिकाका साथै दुर्गाभगवती गाउँपालिकामा अग्रता लिएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले गुजरा, राजपुर, बृन्दावन, कटहरिया, मौलापुर नगरपालिकाका साथै यमुनामाई गाउँपालिकामा अग्रता लिएको छ । रौतहट नेकपा माओवादीका प्रभावशाली नेता प्रभु साहको पकड क्षेत्र मानिन्छ ।

सङ्घीय समाजवादी फोरमले बौधीमाई, माधवनारायण र देवाही गोनाही नगरपालिकामा अग्रता कायम गरेको छ । मङ्गलवार बेलुका काँग्रेसभन्दा पछाडि रहेको चन्द्रपुर नगरपालिकामा नेकपा एमालेले बुधवार बिहानदेखि अग्रता बनाइरहेको छ । त्यस्तै, एमाले गौर नगरपालिकामा पनि अगाडि छ । यसैबिच रौतहटको गौर नगरपालिका १ नेपाल लोकतान्त्रिक फोरमको पोल्टामा परेको छ । नेपाल लोकतान्त्रिक फोरमका भरत साह विजयी भएका हुन् ।

गौर न.पा २ मा भने राजपाका राकेशकुमार झाको पल्लाभारी भएको छ । यता निर्वाचन आयोगले चुनाव भएको पाँच दिनभित्रै सबै तहको नतिजा आइसक्ने भनेपनि त्यो असम्भव जस्तै देखिएको छ । चुनाव भएको तेस्रो दिनको बिहानसम्म कुनै पनि स्थानीय तहको अन्तिम परिणाम आउन सकेको छैन । सोमबार मतदान सकिएपछि रौतहटका अधिकाश स्थानीय तहमा रातीबाट नै मतगणना सुरु भएको थियो । धेरैजसो तहमा मङ्गलवार दिउँसोबाट मतगणना सुरु भएको रौतहटका मुख्य निर्वाचन अधिकृत लेखनाथ ढकालले बताए ।

विशेषगरी मतपत्रको सुरक्षाको विषयलाई लिएर तारजाली लगाउनुपर्दा धेरैजसो ठाउँमा मङ्गलवार बिहान मतगणना हुन सकेन र मतपरिणामा केही ढिलाइ भएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + thirteen =