धनगढीका मेयरले सुरु गरे ‘भोट अनुसारको बोट’ अभियान

“
विष्णु जोशी, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा जनसङ्ख्या बराबर रूख रोप्ने अभियान सुरु भएको छ । नगर हरियाली कार्यक्रम अन्तर्गत सुरु भएको ‘भोट अनुसारको बोट’ अभियान सम्पन्न भएसंगै धनगढी उपमहानगरमा जनसङ्ख्या बराबर बोट राप्ने अभियान सुरु भएको नगरप्रमुख नृपबहादुर वडले जानकारी दिए ।
भोट अनुसारको बोट कार्यक्रम अन्तर्गत धनगढी उपमहानगरपालिकाका विभिन्न सामुदायिक वनहरूमा १४ हजार तीन सय २४ रुख रोपिएपछि कार्यक्रमको समापन गरिएको थियो । साउन २० गते धनगढी उपमहानगरपालिका १३ मा रहेको कैलाली समुदायिक वनमा दुई हजार पाँच सय बिरुवा रोपेर सुरु भएको कार्यक्रम मेयर वडले पाएको भोट बराबरको बोट नगर क्षेत्रमा रोपिएपछि सम्पन्न भएकाे हाे ।
विश्व ओजन तह बचाउ दिवसको अवसरमा धनगढी उपमहानगरपालिका–१३ स्थित कैलाली सामुदायिक वनमा एक कार्यक्रमका बिच अभियानकाे समापन गरिएको हो । नगर हरियाली कार्यक्रम अन्तर्गत भोट अनुसारको बोट अभियानका थालनी कर्ता हरि ओझाले धनगढी वडा नं १३ कैलाली गाउँलाई आगामी पाँच वर्षभित्र म्यांगो भिलेज बनाउने घोषणा गरे ।
शनिवार वडा नम्बर १३ कैलाली सामुदायिक वनपरिसरमा आयोजित एक कार्यक्रममा उनले हरेक घरमा ३ बोट आँप रोपेर आगामी म्यांगो भिलेज नमुना गाउँका रूपमा चिनाउने लक्ष्य रहेको बताए । जिल्ला वन कार्यलय कैलालीका वन अधिकृत डा. राजेन्द्र केसीले कैलाली गाउँलाई म्यांगो भिलेज बनाउन आवश्यक पर्ने आँपका बिरुवा उपलब्ध गराउने बताए । सोही कार्यक्रममा अधिकृत केसीले हरियाली अभियानसंगै फलफुलमा समेत आत्मनिर्भरताको यो अभियानलाई वन कार्यालयले पूर्ण सहयोग गर्ने बताए ।
भोट बराबर बोट अभियानलाई सफल पारेकोले यो अभियानलाई सफल पार्न कुनै कठिनाइ नरहेको अभियन्ता ओझाले बताए । उनका अनुसार सो अभियान अन्तर्गत धनगढी उपमहानगरपालिकामा १४ हजार बोट रोपिएको छ । समापनका दिन कैलाली सामुदायिक वनको अर्को साईडतिर बाँकी बोट रोपिएको ओझाले बताए ।
उनले अभियान अन्तर्गत कैलाली सामुदायिक वनमा दुई हजार पाँच सय, श्रीकृष्ण धार्मिक वनमा एक हजार आठ, कैलाली बहुमुखी क्याम्पसमा एक सय आठ, देवहरिया सामुदायिक वनमा दुई हजार पाँच सय, तिलकेताल सामुदायिक वनमा एक हजार पाँच सय, एश्वर्य बहुमुखी क्याम्पसमा ७५ र जाली सामुदायिक वनमा ६ सय बोट रोपिएको बताए ।
सतीसाल, बबुल, अमला, खैर, बेल, बास, बकाईनो, सिरिस लगायतका विभिन्न जातका बोटहरू सामुदायिक वनमा र कटहर, लिच्ची, अमला, अनार, रुद्राक्ष लगायतका बोटहरू सामुदायिक वन र क्याम्पसमा रोपिएको उनले बताए । अभियानमा बोटहरू केही जिल्ला वन कार्यालय र केही नर्सरीहरूबाट लगेर रोपिएको उनले बताए ।
“








