नेपाल कम्युनिस्ट पार्टीद्वारा वडा सदस्य माथि मोसो

नुवाकोट, १ असोज : नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले शिवपुरी गाउँपालिका वडा नं ४ सिक्रेका वडा सदस्य उद्धवबहादुर थापालाई गएराति मोसो दलेर दुव्यवहार गरेका छन् ।

नेपाली काँग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित थापालाई पदीय जिम्मेवारी पूरा नगरेको र शक्तिको दुरुपयोग गरेको अभियोग लगाउँदै मोसो दलेर ‘जनकारबाही’ गरेको नेकपाका जिल्ला सेक्रेटरी सागर तिमिल्सिनाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पूर्व प्रहरी हवल्दारसमेत रहनुभएका थापालाई घरमा नै बसिरहेको समयमा सो पार्टीका कार्यकर्ताले यसअघि सच्चिन सचेत गराए पनि अटेर गरेकाले मोसो दलेर कारबाही गर्न बाध्य भएको जनाएको छ ।

थापाले गाउँमा सञ्चालन गरेको औषधि पसल अवैध रहेको र त्यसबाट बिरामीको स्वास्थ्यमाथि खेलबाड गरेको र आव २०६३/६४ मा झोलुङ्गे पुल निर्माणका लागि निर्माण समितिको अध्यक्ष बनेर प्राप्त बजेट अनियमितता गरी पुलको निर्माण अझै सुरु नगरेकाले जनताबाट आएको उजुरीका आधारमा पहिलो चरणमा सचेतस्वरुप मोसो दलेको र नसच्चिए थप कारबाही गर्ने विज्ञप्तिमा उल्लेख छ ।

गत शुक्रवार पनि नेकपाको विद्यार्थी भ्रातृ सङ्गठन अखिल क्रान्तिकारीले दुप्चेश्वर गाउँपालिका–१ स्थित इन्द्रेणी प्राविका शिक्षक रामकृष्ण श्रेष्ठलाई नियमितरुपमा विद्यालयमा अध्यापन गराउन नगएको भन्दै कारबाहीस्वरुप मोसो दलेका थिए । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *