अटो सो लक्षित सार्वजनिक गरिएका सवारी साधन यस्ता छन्

भदाै १८, काठमाडौँ । मङ्गलवारबाट भृकुटीमन्डपमा सुरु भएको नाडा अटो सोमा दर्जनौ बिक्रेताहरुले नयाँ नयाँ मोडलका गाडीहरु प्रर्दशनीमा राखेका छन् । हिन्दुहरूको चाड बडा दसैँ नजिकिदै गर्दा बिक्रेताहरूले नयाँ नयाँ सवारी साधनहरू नाडा अटो सो मार्फत सार्वजनिक गरेका हुन् । भने, बिक्रेताहरूका अनुसार गत आर्थिक वर्ष नयाँ मोडलका सवारी आयात निकै कम भएको बताएका छन् ।

अटो सोमा जर्मनीको फक्सवागन, भारतीय टाटा, बेलायती मोरिस ग्यारेज (एमजी), जापानी सुजुकी, रेनोलगायत कम्पनीले नयाँ कार प्रदर्शनी लक्षित गरी सार्वजनिक गरिसकेका छन् । कतिपयले बिलकुल नयाँ मोडल र कतिपयले चलिरहेकै मोडलको रिभाइज भर्सन ल्याएका छन् । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले हरेक वर्ष दसैँ अघि आयोजना गर्दै आएको मेलामा नयाँ गाडी सार्वजनिक गर्ने प्रतिस्पर्धा नै हुने गरेको छ । यो वर्ष अटो सो लक्षित गरी सार्वजनिक गरिएका सवारीहरु यस्ता छन् ।

टाटा टिगोर

भारतीय सवारी निर्माता कम्पनी टाटाको कम्प्याक्ट सेडान कार ‘टिगोर’ भित्रिसकेको छ । आकर्षक, चुस्त, अत्याधुनिक एवं डाइनामिक डिजाइनका कारण टिगोरलाई ‘स्टाइल ब्याक’ उपनाम दिएको छ । कम्प्याक्ट सेडान टिगोरमा मल्टी ड्राइभ मोडका लागि नयाँ रिभोटर्न १२ सय सीसीको शक्तिशाली पेट्रोल इन्जिन रहेको छ । टिगोर कार ‘एक्सई, एक्सटी, ‘एक्सजेड र एक्सजेड अटोमेटिक गरी चारवटा भेरियन्टमा छ । यो कारको सुरुवाती मूल्य २३ लाख ४५ हजार र अधिकतम मूल्य २९ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । कारको बाहिरी बनावट एक्सप्रेसिभ, एक्साइटिङ र एक्स्ट्रा अर्डिनरी तरिकाले डिजाइन गरिएको छ ।

आकर्षक फिनिसिङसहित उत्कृष्ट ड्युल टोन इन्टेरियर, आरामदायी सिटलगायत कारका उत्कृष्ट विशेषता हुन् । कारमा गोल्डेन इयर्ससहित हर्मन प्रविधिको अत्याधुनिक अडियो तथा कनेक्टनेक्स्ट इन्फोटेनमेन्ट सिस्टम छ । कारमा अटोमेटिक क्लाइमेट कन्ट्रोल फिचर छ । कारमा जडित ड्युल फ्रन्ट एयरब्याग, कर्नर स्टाबिलिटी कन्ट्रोल (सीएससी) सहितको एबीएस, ईबीडी र रिभर्स पार्क क्यामेरालगायत विशेषताले यात्रा सुरक्षित बनाउनेछ ।

फक्सवागन न्यू टिग्वान

जर्मन प्रिमियम कार निर्माता भक्सवागनले चर्चित एसयूभी गाडी टिग्वानको रिभाइज्ड भर्सन नेपाली बजारमा भित्र्याएको छ । भक्सवागनको विक्रेता विशाल समूह अन्तर्गतको पूजा इन्टरनेशनलले नयाँ टिग्वान सार्वजनिक गरेको छ । अटो सोलाई लक्षित गरी ल्याइएको नयाँ टिग्वान चारवटा भेरियन्टमा उपलब्ध छ । साथै, सोही अवसरमा तीनवटा भेरियन्टका एमरोक पिकअप पनि भित्र्याएको छ ।

कम्पनीले नयाँ टिग्वानको मूल्य ९९ लाख रुपैयाँदेखि एक करोड २८ लाखसम्म तोकेको छ । चारवटै भेरियन्टको ग्राउन्ड क्लियरेन्स दुई सय एक मिलिमिटर छ । कारमा ६० लिटर इन्धन क्षमताको ट्यांकी छ । यसमा सिक्स स्पिड डबल क्लच ट्रान्समिसन डीएसजीदेखि सेभेन स्पिड अटोमेटिक ट्रान्समिसन गियरबक्स छ । कारमा अगाडि र पछाडि डिस ब्रेक, अगाडि दुईवटा रिडिङ लाइट, आठवटा स्पिकर, सेन्टर लक, मोबाइल फोन कनेक्सन, एडजस्टेवल सिट, रिभर्स पार्किङ क्यामेरा, पार्किङ ब्रेक, ६ वटा एयरब्याग र दुई आवाजको हर्नलगायत फिचर्स छन् ।

एमजी जिएस एसयूभी

बेलायती ब्रान्ड मोरिस ग्यारेज (एमजी) ले दुई मोडलमा एसयूभी नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले १५ सय सीसीको एमजी जीएस र दुई हजार सीसीको एमजी एडब्लूडी ल्याएको हो । एमजी गत वर्षको नाडा अटो सोबाट नेपाल आएको थियो । एसएलआर टेक्नोलोजी एन्ड ट्रेड प्रालिले एमजी गाडी बिक्री गर्दै आएको छ । वातावरणमैत्री युरो–५ मापदन्ड प्रमाणित एसयूभी डिजाइन र आरामदायी यात्राको हिसाबले उत्कृष्ट रहेको कम्पनीको दाबी छ । एमजी जीएस मोडलका गाडीको बजार मूल्य ६५ लाख रुपैयाँभन्दा माथि तोकिएको छ । नयाँ मोडल अटो सो मा सार्वजनिक गरिएको छ ।

महिन्द्रा थार डेब्रेक

भारतीय सवारी निर्माता महिन्द्रा एन्ड महिन्द्राको नेपालका लागि आधिकारिक विक्रेता अग्नी इनकर्पोरेटेडले थार जीपको नयाँ भर्सन थार डेब्रेक नाडा अटो सो मा सार्वजनिक गरेको छ । अटो सोलाई लक्षित गरी कम्पनीले नेपाली बजारमा लोकप्रिय थारको नयाँ मोडल ल्याएको हो । यो सवारी सहरी तथा अफ रोड बाटोमा समेत उपयोगी हुने र युनिक डिजाइन भएकाले लोकप्रिय रहेको कम्पनीको भनाइ छ ।

डाटसन ’रेडी गो वानएल’

जापानी डाटसन ब्रान्डको ‘रेडी गो’ शक्तिशाली इन्जिनमा आउने सार्वजनिक भएको छ । डाट्सनले रेडी गो एक हजार सीसी क्षमतामा नयाँ गाडी ल्याएको हो । यसअघि नेपाल भित्रिएको आठ सय सीसीको रेडी गो इन्ट्री लेबल कारमा लोकप्रिय छ । शक्तिशाली इन्जिन र परिष्कृत सुविधासहित रेडी गो भित्र्याएको थियो । पेट्रोल इन्जिनको रेडी गो दुईवटा भेरियन्टमा उपलब्ध रहेको छ ।

यसको बाहिरी बनावट र भित्री सजावट आकर्षक बनाइएको छ । कारमा दुई सय २२ लिटरको बुट स्पेस छ । कारमा स्पिड सेन्सेटिभ पावर स्टेयरिङ छ । एयर कन्डिसनर, डिजिटल टेक्नोमिटर, ड्राइभ कम्प्युटर, पावर विन्डोलगायत यसका आकर्षक फिचर हुन् । यसको ग्राउन्ड क्लियरेन्स एक सय ८५ मिलिमिटर छ ।

स्कोडा सुपर्व फेसलिफ्ट

चेक रिपब्लिकको कार ब्रान्ड स्कोडा सुपर्व फेसलिफ्ट सार्वजनिक हुने भएको छ । सेडान सेगमेन्टमा नेपाली बजारमा रुचाइएको सुपर्वको अपडेटेड भर्सन नाडा अटो सो मा राखिएको छ । नयाँ स्कोडा सुपर्व फेसलिफ्ट फरक सुविधासहित अटो सो लक्षित गरी आउन लागेको हो ।

सुजुकी न्यू डिजायर

सुजुकी डिजायर कम्पनीले आकर्षक अवतारमा भित्र्याएको छ । अटो सो तथा दसैँलाई लक्षित गरेर नयाँ स्वरूपको डिजायर ल्याएको छ । नयाँ डिजायरमा सुजुकी बलेनोमा प्रयोग गरिएको हियरटेक च्यासिस प्लेटफर्मको प्रयोग गरिएको छ । यसको भित्री तथा बाहिरी डिजाइन आकर्षक छ । यसमा रहेको इन्फोटेनमेन्ट सिस्टममा दिइएको एन्ड्रोइड अटो सुविधा भारतमा निर्मित कारमै पहिलो भएको कम्पनीको दाबी छ ।

कारमा ड्युल एयर ब्याग, फ्रन्ड डिस्क ब्रेक र ब्याकमा ड्रम ब्रेक प्रयोग गरिएको छ । कारमा १२ सय सीसीको भीभीटी पेट्रोल इन्जिन जडान गरिएको छ । यसले एक लिटर पेट्रोलमा २२ किलोमिटरसम्म माइलेज दिने कम्पनीको दाबी छ । ३७ लिटर पेट्रोल अटाउने इन्धन ट्यांकी रहेको यो कारको ग्राउन्ड क्लियरेन्स एक सय ६३ मिलिमिटर रहेको छ । यसमा पाँच स्पिड म्यानुअल गियर, टर्निङ रेडियस ४.८ मिलिमिटर छ ।

किया सोल इभी

दक्षिण कोरियाली कार निर्माता कम्पनी कियाले सोलको इलेक्ट्रोनिक भर्सन सोल इभी अटो सोमा सार्वजनिक गरिएको छ । सोल इभीका गाडी ८० वाटका हुन् । उक्त सवारी दुई मोडलका सनरुफ र नर्मल छन् जसको मूल्य क्रमशः ५८ र ५६ लाख रुपैयाँ रहेको छ । सोल इभी फुल चार्जमा २ सय १२ किलोमिटर कुद्न सक्छ । यी गाडी १५ एमपिएरमा चार्ज गर्न सकिन्छ भने ८/१० घण्टामा फुल चार्ज हुनेछ । कम्पनीले आधा घण्टामै फुल चार्ज गर्न सक्ने स्टेसन ल्याउन लागेको बरालले जानकारी दिए ।

रेनो डस्टर

फ्रान्सेली कम्पनी रेनो गत वर्ष कम्प्याक्ट एसयूभी डस्टर र कम्प्याक्ट ह्याचब्याक क्विडसहित नेपाल भित्रिएको हो । नेपालमा डस्टर र क्विड दुवै मोडल लोकप्रिय बनेका छन् । कम्पनीले आसन्न नाडा अटो सोमा डस्टर पेट्रोल इन्जिनमा एएमटी र डिजेल इन्जिनमा आरएक्सएस भेरियन्ट सार्वजनिक गरिएको छ । नेपाली बजारमा ३५ लाखदेखि ५६ लाख रुपैयाँसम्मको रेन्जमा उपलब्ध डस्टर एसयूभी सेगमेन्टमा लोकप्रिय छ । नेपाल भित्रिएको एक वर्षमै रेनोका दुवै मोडलले नेपालीको विश्वास जित्न सफल भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *