भारत भ्रमण सफल भएको प्रधानमन्त्रीको भनाइ

काठमाडौं, भदौं १२ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतको सम्बन्धलाई थप फराकिलो र सुदृढ बनाउन आफ्नो भारत भ्रमण सफल भएको बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा आफ्नो भारत भ्रमणका बारेमा जानकारी गराउँदै उहाँले सीमा क्षेत्रमा हुने बाढी तथा डुबानको समस्या समाधानका लागि आफूले प्रष्टरुपमा विषयवस्तु राखेको र समाधान हुने विश्वास समेत पैदा भएको बताउनुभयो ।

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) आगामी एक महिनाभित्र सम्पन्न गर्ने गरी भारतीय समकक्षीसँग कुराकानी भएको उल्लेख गर्दै उहाँले ऊर्जा व्यापार सम्झौताको मर्म र भावनाअनुसार नै मुलुकमा ऊर्जा उत्पादनलाई बढवा दिने र प्रसारणलाइन निर्माण गर्ने सन्दर्भमा सहमति भएको जानकारी गराउनुभयो । प्रधानमन्त्री देउवाले आर्थिक विकास र नेपालमा लगानीका लागि आफूले भारतीय पक्षसँग कुरा गरेको, पर्यटन क्षेत्रको विकास तथा विस्तार, निजगढ विमानस्थल निर्माण तथा नयाँ १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणमा समेत सहमति भएको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले थप नयाँ स्थानमा प्रसारण लाइन निर्माणलाई समेत अगाडि बढाइने सहमति भएको बताउँदै नेपालको सामाजिक आर्थिक विकासका लागि ऊर्जा र पर्यटन क्षेत्रको विकास, ठूला आयोजना अगाडि बढाउन नेपाल र भारत सहमत भएको जानकारी दिनुभयो । यस्तै माथिल्लो कर्णाली, अरुण तेस्रोजस्ता जलविद्युत् आयोजना अगाडि बढाउने सन्दर्भमा समेत महत्वपूर्ण छलफल भएको बताउँदै उहाँले ठूला र महत्वपूर्ण आयोजना क्रमशः अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

संविधान निर्माण र कार्यान्वयन गर्ने विषय नेपालको आन्तरिक विषय रहेको र यसमा अरुको चासो रहनुपर्ने विषय नभएको भन्दै उहाँले आफूसँग जोडिएर गरिएको प्रचार र टिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *