सभापति देउवाबिरुद्ध शेखर खनिए,‘ बरु,विमलेन्द्रलाई नै उपसभापति बनाएको भए हुन्थ्यौँ नि !’

१२ भदौ, काठमाडौँ । डा. शेखर कोइराला काँग्रेसको १३ औँ महाधिवेशनबाट सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्य भएका नेता हुन् । १८४८ मत पाउँदा खुमबहादुर खड्काले १८४६ मत प्राप्त गरेका थिए । केन्द्रीय सदस्यमा सबैभन्दा बेसी मत पाएर विजयी भएका कोइराला अहिलेसम्म राज्यको उच्च पदमा पुगेका छैनन् । उनले पार्टीभित्र एक सांसद भएर आफ्नो जिम्मेवारी बहन गरिरहेका छन् । हालै दक्षिणी छिमेकी राष्ट्र भारतको पाँच दिने भ्रमण सकाएर फर्केका सभापति देउवाको भारत भ्रमण सफल असफलबारे कोइरालाले खरो प्रतिक्रिया दिएका छन्  । प्रस्तुत छ,उनकै शब्द शैलीमा  गरिएको कुराकानीको सम्पादित अंश :

सभापति देउवाले ‘वान टु वान’ छलफलमा के कुरा गर्नुभयो, मलाई थाहा छैन । उहाँले पत्रकार सम्मेलनमा लिखित मन्तव्यभन्दा बाहिर गएर बोल्नुभएको छ । त्यसरी नबोलेको भए राम्रो हुन्थ्यो । आखिर विज्ञहरुले नै मन्तव्य लेखेर दिएका थिए ।

कसैले धेरै सफल भयो भन्छन्, कसैले पूर्ण असफल भयो भन्छन् । कसैले संविधान संशोधनको प्रसङ्ग उठाएकामा आपत्ति जनाइरहेका छन् । तर, यसो पल्टाएर र्हेयो भने यसबीचका चार प्रधानमन्त्रीले एउटै विषय उठाइरहेको पाउँछु ।
भारतसँग हतियार खरिद गर्दा ६० प्रतिशत अनुदान र ४० प्रतिशत हामीले हाल्नुपर्दो रहेछ । हामीले तिर्नुपर्ने ४० प्रतिशत मिनाहा गरिदिन केपी ओलीले पनि भन्नुभयो, पुष्पकमल दाहालले पनि र अहिले शेरबहादुरजीले पनि । सुशील कोइरालाले पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौँ आएका बेलामा भन्नुभएको थियो ।

के दुई अर्ब रुपैयाँ हामीले भारतलाई दिन सक्दैनौं ? तिमीसँग हतियार किन्छौं, सबै पैसा हामी नै दिन्छौं भनेर भन्न सक्नुर्पयो नि । किन अनुदान लिने हामीले ? नेपाल कमजोर छ, पैसा छैन भन्ने हो ? हामी सक्छौँ भनेर हामीले देखाउन सक्नुपर्छ । यस्ता कुरा मलाई उचित लाग्दैन । यसमा हामी कोही बोलिरहेका छैनौँ ।

पञ्चेश्वरमा हामी जहाँको त्यहीँ छौँ अहिलेसम्म । नयाँदिल्लीमा हस्ताक्षर भएका कुरा त भारतले काठमाडौँमै प्रतिबद्धता गरेकै कुरा हुन् । भूकम्प पीडितलाई ५० हजार घर भनेर भारतले भनेकै हो त । ३÷४ वर्षदेखि एउटै कुरा सुनिरहेका छौँ । नयाँदिल्लीमा केही नयाँ भएजस्तो लाग्दैन । भोलि अर्को प्रधानमन्त्री गए पनि यिनै कुरा लेखिने हुन् ।
रेल कनेक्टिभिटी त धेरै पहिलेदेखि भन्दै आएको कुरा हो । अरू ९ वटा विषय पनि पुरानै हुन् । चार्टर एकाउन्टेन्टको विषय मात्र यस पटक नयाँजस्तो लाग्यो । सुशील कोइरालादेखि शेरबहादुरजीसम्म लगभग एउटै कुरा पाइरहेको छु । त्यसैले यसलाई सद्भाव भ्रमण भन्छु ।

शेरबहादुरजीले राम्रो ‘रेड कार्पेट वेलकम’ पाउनुभएको छ । काँग्रेस यसमै गर्व गर्छ । काँग्रेसको विधानअनुसार उपसभापतिलाई कार्यवाहक दिनुपर्छ । उपसभापति नियुक्त गरिएको छैन । काँग्रेसको परम्परा अनुसरण गरेको भए वरिष्ठ नेतालाई दिएको भए हुन्थ्यो । वरिष्ठ नेता रामचन्द्र पौडेल या महामन्त्री सशांक कोइरालालाई दिएको भए हुन्थ्यो । सबैभन्दा ज्येष्ठ नेता कुलबहादुर गुरुङलाई दिएको भए पनि हुन्थ्यो ।

अब, म शेरबहादुरजीलाई सोध्छु– सिंगापुर जाँदाचाहिँ किन कार्यवाहक कसैलाई नदिनुभएको ? आज किन दिनुर्पयो ? यसको जवाफ हामीलाई चाहियो । विमलेन्द्रजीलाई बनाएकामा मलाई आपत्ति होइन । तर, सभापतिको अधिकार हो भने सिंगापुर जाँदा किन दिनुभएन ? भारत भ्रमणमा पाँचै दिनका लागि जानुभएको थियो, कार्यवाहक तोक्नुपर्ने जरुरी थिएन । काँग्रेसमा उपसभापति बनाउने चलन धेरै पछि आएको हो । त्यसअघि वरिष्ठतालाई आधार मान्ने चलन थियो । शेरबहादुरजीले पार्टी पद्धति ‘ब्रेक’ गर्नुभयो । पार्टी भनेको पद्धतिमा हिँड्ने हो । विमलेन्द्रजीलाई उपसभापति बनाएरै कार्यवाहक दिएर गएको भए पनि हुन्थ्यो नि । अनलाइन खबरको सहयोगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *