साफ यु १५ : नेपाल च्याम्पियनसिपको फाइनलमा प्रवेश

दिपेन्द्र पोखरेल, काठमाडौँ । नेपाली युवा टोली साफ यु १५ फुटबल च्याम्पियनसिपको फाइनल पुगेको छ । बङ्गलादेशलाई ४–२ ले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो । नेपाल यस अघि सन् २०१३ यु १६ का नाममा भएको च्याम्पियनसिपमा हेमन थापा मगरको कप्तानीमा फाइनल पुगेको थियो ।

यस पटक पनि नेपालले उपाधिका लागि भारतको सामना गर्नेछ । हलचोकमा भएको अर्को सेमिफाइनलमा भुटानलाई ३–० ले हराउँदै भारतले नेपालसँगको भेट पक्का गरेको हो । पहिलो हाफमा २–० र ६५ औँ मिनेटमा अर्को गोल थपेपनि अन्त्यतिर अग्रता जोगाउन सङ्घर्ष गर्नुपरेको थियो । एक मिनेटमै दुई गोल गरेपछि बङ्गलादेश खेलमा फर्केको थियो । ७३ औँ मिनेटमा फैसल अहमेद फहिमले पेनाल्टी बक्स बाहिरबाट बङ्गलादेशका लागि पहिलो गोल फर्काएका थिए । यसिन अराफातको फ्रिकिकमा बल भेट्टाएपछि फैसलले गोल गरेका हुन् । त्यसको लगत्तै अर्को गोल गरेर बङ्गलादेशले नेपालमाथि दबाब बढाएको थियो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको क्रितिम मैदानमा पहिलो हाफमा २–० को अग्रता नेपालले लिएको थियो । ५५ औँ मिनेटमा चोटका कारण मैदान बाहिरिनु अघि आकाश नेपाली टोलीको नायक रहेका थिए । पहिलो हाफको दुवै गोल उनले गरे । छैटौँ मिनेटमा पहिलो गोल गरेका आकाशले दोस्रो गोल ३० औँ मिनेटमा गरेका थिए । पहिलो गोलको दाजोमा दोस्रो गोल सहज थियो । रन्दिप पौडेलको क्रसमा बङ्गलादेशका सादेकु जमान फहिमले क्लिर गर्न नसक्दा आकाशले सिक्स यार्ड बक्स बाहिरबाट पहिलो गोल गरेका थिए ।

३० औँ मिनेटमा दर्शन गुरुङले मैदान बायाँबाट क्रस गरेको बल दीपक भन्डारीले हेड गरे । त्यसमा प्राप्त बललाई बङ्गलादेशका गोलकिपर इमोन हवल्दार नियन्त्रणमा लिन सकेनन् अनि रक्षकसँगको उनको समन्वय अभावमा नजिक रहेका आकाशले ट्याप गर्दै गोल अन्तरलाई दोब्बर पारेका थिए । ६५ औँ मिनेटमा नजमुल विश्वासको आत्मघाती गोलमा नेपालले अग्रता बढाएको थियो । नेपालका कार्लोस बखारियको क्रसलाई रोक्ने क्रममा नजमुलको आत्मघाती गोल भएको थियो ।

छ मिनेट इन्जुरी समयको केही सेकेन्डमात्र बाँकी रहँदा ब्रिजेश चौधरीले गोल गरेपछि दबाबमा रहेको नेपालले राहत महसुस गरेको थियो । रन्दिपको क्रसमा ब्रिजेशले नजिकबाट गोल गर्दै नेपालको जित पक्का गरेका थिए । लगातार दुई गोल गरेपछि खेलमा नियन्त्रण बनाएको बङ्गलादेशले थप गोलको अवसर पाएपनि सफल हुन सकेन । छ मिनेट इन्जुरी समयमा पनि बङ्गलादेशले दबाब दिएपनि अन्तिम गोल नेपालले थपेको थियो ।

दुई वर्षको फरकमा नेपाल उमेर समूहको अर्को उपाधिको नजिक पुगेको छ । दुई वर्षअघि नेपालले सोही मैदानमा विमल घर्तीमगरको कप्तानीमा साफ यु १९ फुटबल च्याम्प्यिनसिपको उपाधि जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *