यस हप्ता एक नेपाली र एक हिन्दी चलचित्र बिच भिडन्त

भदौ ९, काठमाडौं । शुक्रबारदेखि नेपाली सिनेमा घरमा नेपाली चलचित्र ‘देश खोज्दै जाँदा’ र हिन्दी चलचित्र ‘कैदी ब्यान्ड’ प्रदर्शनमा आए्का छन् । यो हप्ता एक नेपाली र एक हिन्दी चलचित्र मात्रै सार्वजनिक भएकाले गत हप्ता रिलिज भएका ‘ग्याङ्स्टर ब्लूज’ र ‘भूईँमान्छे’ लाई केही फाइदा पुग्ने देखिन्छ ।

उपेन्द्र सुब्बाको लेखन र प्रकाश आङदेबेको निर्देशन रहेको चलचित्र ‘देश खोज्दै जाँदा’ भुटानी शरणार्थीका पीडा समेटिएको छ । वर्षौदेखि न यता न उता भएर बस्नुपर्दाको पीडा चलचित्रमा उतारिएको छ । शरणार्थीका विभिन्न समस्यामा आधारित यस चलचित्रमा बाबु बोगटी, हेम्नत बुढाथोकी, अरुणा कार्कीलगायतका कलाकारको अभिनय रहेको छ ।

भुटानी शरणार्थीहरुमा आएको पहिचानको संकट, नेपाली समुदाय र भुटानी शरणार्थीबिचको सम्बन्ध चलचित्रको मुख्य विषय रहेको छ । कवि, लेखक तथा फोटोग्राफरको परिचय बनाएका निर्देशक आङदेबेले लामो समय लगाएर शरणार्थीका बारेमा अनुसन्धान गरी चलचित्र तयार गरेको बताएका छन् । चलचित्रका गीत कवि श्रवण मुकारुङले लेखेका हुन् भने सिनेमाटोग्राफी सन्जय लामाको रहेको छ ।

त्यस्तै, हिन्दी चलचित्र ‘कैदी ब्यान्ड’ म्युजिकल  फिल्म हो । चलचित्रको कथा सात जना निर्दोष व्यक्तिले जेल बस्नु परेको भोगाईमा आधारित छ । यी निर्दाेष व्यक्तीले जेलमा नै संगीतमार्फत अधिकारीहरुलाई आफ्ना कुरा राख्दछन् । उनीहरुले रचना गरेको संगीतले तहल्का मच्चाउँछ । उनीहरुको गीत देशभक्तिपूर्ण भएको भन्दै धेरैले मन पराउँछन् । गीत संगीतको माध्यमबाट उनीहरुले आफूलाई कसरी निर्दोष देखाउँछन् भन्ने नै चलचित्रको मुख्य विषयवस्तु रहेको छ ।
हबिब फैसलको निर्देशन र आदित्य चोपडाको निर्माण रहेको यो चलचित्र यश राज फिल्मको ब्यानरमा बनेको हो । यसमा आदार जैन, अन्या सिंह, प्रिन्स परविन्दर सिंहलगायतका कलकारको अभिनय रहेको छ । अमित त्रिवेदी र कोमैल शायनको संगीत रहेको यस चलचित्रमा अनय गोस्वामीको छायांकन रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *